१३ चैत,काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेसँगै सिंहदरबारमा नयाँ ऊर्जा र उत्साह देखिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर शाहले आफ्नो जिम्मेवारी सम्हाल्नु भएको हो। पदबहाली लगत्तै उहाँको अध्यक्षतामा मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ, जसलाई आम नागरिकले निकै चासोका साथ हेरिरहेका छन्।
यसपटकको सरकार गठनमा केही रोचक र ऐतिहासिक पक्षहरू चर्चाको केन्द्रमा छन्। सबैभन्दा धेरै चर्चा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रको छ। झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै बालेनले संसदीय राजनीतिमा आफूलाई बलियो रूपमा उभ्याउनुभएको हो। ३५ वर्षको उमेरमा मुलुकको कार्यकारी प्रमुख बन्नुभएका बालेन नेपालको इतिहासमै सबैभन्दा कम उमेरको प्रधानमन्त्री बन्नु भएको छ।

मन्त्रिपरिषद् गठनमा पनि बालेनले ‘स्लिम’ र विज्ञ समूहलाई प्राथमिकता दिएको देखिन्छ। संविधानले २५ सदस्यीय मन्त्रिपरिषद्को सुविधा दिए पनि प्रशासनिक खर्च कटौती र कार्यकुशलताका लागि उनले हाललाई १५ सदस्यीय टोली मात्र निर्माण गरेका छन्। जसमा अर्थविद् डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीका रूपमा दोस्रो वरीयतामा रहनुभएको छ भने गृह मन्त्रालयको कमान युवा आन्दोलनबाट आएका सुधन गुरुङले सम्हाल्नु भएको छ।

पहिलो बैठकअघि प्रधानमन्त्री शाहले सबै मन्त्रालयका सचिवहरूलाई ५–५ वटा तत्काल गर्न सकिने सुधारका योजनाहरू पेस गर्न निर्देशन दिनु भएको थियो। आजको बैठकमा तिनै योजनाहरू र आम जनतालाई प्रत्यक्ष राहत दिने खालका निर्णयहरू हुने अपेक्षा गरिएको छ। सिंहदरबार प्रवेश गर्दा बालेनले आफ्नो चर्चित ‘ब्ल्याक चस्मा’ र आत्मविश्वासका साथ “काम गर्न आएको हुँ, काम गरेरै देखाउँछु” भन्ने छोटो प्रतिक्रिया दिनुभएको थियो, जसले सामाजिक सञ्जालमा निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्