२६ जेठ,जनकपुर, मधेश प्रदेश : आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सभामा तीव्र असन्तुष्टि देखिएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतीश कुमार सिंहले नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरे पछि विभिन्न सांसदहरूले कडा आलोचना गर्दै संशोधन प्रस्तावहरू दर्ता गरेका छन्।
अधिकांश सांसदहरूले नीति तथा कार्यक्रमलाई नारा–मुखी, अस्पष्ट र जनजीवनको संवेदनशीलता लाई बेवास्ता गरेको टिप्पणी गरे।
जनता समाजवादी पार्टी नेपालका सांसद राम अशिष यादवले मधेश आन्दोलन र जनआन्दोलनको उल्लेख नहुनु गम्भीर विषय भएको बताए। उनले पूर्वाधार प्रतिष्ठान बाट दिइँदै आएको सहयोग निरन्तरता दिनुका साथै थप सुविधा सुनिश्चित गर्नु पर्ने माग राखे।
सांसद माला कर्णले नीति तथा कार्यक्रमलाई ‘नाराको पुलिन्दा’ मात्र भन्दै कडा आलोचना गरिन्। उनले कार्यान्वयनको स्पष्ट योजना विना नीति ल्याइनु मधेशलाई अझ पछि पार्ने चेतावनी दिइन्। साथै, प्रहरी ऐन र माताजानकी स्थलको ऐतिहासिक तथा धार्मिक महत्वलाई बेवास्ता गरिएको प्रति आपत्ति जनाइन्।
सांसद किरण कुमारीले नीति तथा कार्यक्रम जनजीवन सँग नजोडिएको भन्दै राजविराज नगरपालिकाको दुर्गन्ध, अस्वस्थ वातावरण र फोहोर व्यवस्थापन तर्फ सरकारको ध्यानाकर्षण गराइन्।
सांसद संजय कुमार यादवले मधेश जनविद्रोहको ऐतिहासिक योगदान समावेश गर्न माग गर्दै, आठै जिल्लामा विशेषज्ञ अस्पताल, ६४ निर्वाचन क्षेत्रमा नमूना विद्यालय, प्रादेशिक गर्ल्स कलेज, दलित र मुस्लिम समुदायका लागि विशेष कार्यक्रम तथा लगानी भित्र्याउन सम्मेलनको प्रस्ताव राखे।
सांसद लखन दासले सामुदायिक विद्यालयहरूको अवस्था कमजोर रहेको र दक्ष जनशक्ति उत्पादनको लक्ष्य प्रति स्पष्ट योजना नआएको बताए।सांसद कुमार कान्त झा ले गुठी जग्गा कब्जाको विषय उठाउँदै धार्मिक एवं पर्यटकीय महत्व बोकेको माध्यमिक परिक्रमा व्यवस्थापन लाई समेट्न माग गरे।
सांसद चन्दन कुमारले जलवायु परिवर्तनलाई गम्भीर विषयको रूपमा लिनु पर्ने भन्दै छुट्टै जलवायु नीति ल्याउन आग्रह गरे। उनले श्रमिकहरूको यातायात, रोजगारी र सुरक्षासम्बन्धी सुधार आवश्यक रहेको उल्लेख गरे।
प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी छ भने बाँकी सांसदहरूले मंगलबारको बैठकमा आफ्नो धारणा राख्ने जनाइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्