३ असार, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्सामा कार्यरत सवारी चालक अनुमतिपत्र शाखाका अधिकृत (आठौं तह) कमल राज गौतम विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ।
गौतमले सेवा अवधि भर पदीय मर्यादा विपरीत कार्य गर्दै वैधानिक आय स्रोत बाहिरको रकम प्रयोग गरी ठूलो परिमाणमा सम्पत्ति आर्जन गरेको आयोगको निष्कर्ष छ। सार्वजनिक पदमा कार्यरत रहँदा उनले विभिन्न शीर्षकमा प्राप्त आम्दानी (पारिश्रमिक, भत्ता, घरजग्गा बिक्री, ऋण, शेयर तथा कृषि आय आदि बाट) रु. २,८९,२०,२६८.१८ मात्र देखिएको छ।
तर सोही अवधिमा गौतम तथा उनका परिवारका सदस्यहरूले घरजग्गा खरिद, गाडी, बीमा, सुन, शेयर, अध्ययन खर्च, ऋण भुक्तानी, र अन्य बैंक खाता बाट भएको खर्च लगायत रु. ५,४०,९८,९५५.८९ बराबरको सम्पत्ति खर्च र लगानी गरेका देखिएका छन्। यो रकम उनीहरूको आयको तुलनामा निकै बढी भएको र स्रोत पुष्टि गर्न नसकिने अवस्था देखिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार, सो आधारमा कुल रु. २,५१,७८,६८७.७१ बराबरको गैरकानूनी सम्पत्ति आर्जन भएको पुष्टि भए पछि गौतम माथि भ्रष्टाचार निवारण ऐन, २०५९ तथा साबिक ऐन २०१७ का विभिन्न धारामा मुद्दा दायर गरिएको हो।
आयोगले अदालत समक्ष गौतम लाई कैद, बिगोअनुसार जरिवाना, र सम्पत्ति जफत समेत गर्न माग गर्दै मुद्दा चलाएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए। साथै, गौतमले राष्ट्रसेवक पदमा बहाली भएपछिका वर्षहरूमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक विवरण नदेखाई झुटो विवरण पेश गरेको समेत पुष्टि भएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्