३२ असार,सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस सहित रंगेहात पक्राउ परेका छन् । मेयर साह लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ गरेको हो ।
अहिले टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समिति सँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए ।

तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङ पछि मेयर साहले चेक लिनु अघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसके पछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख राम बहादुर कुरुम्वाङले जानकारी दिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्