१ साउन,रौतहट । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमा चढेर विद्युत् तार पन्छाउने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीका अनुसार मृतक रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान हुन्। उनी ट्रकमाथि चढेर ११ हजार भोल्टको विद्युत् तार पन्छाउने क्रममा करेन्ट लागेका थिए।

उनी रौतहट बाट नवलपुर स्थित न्यू माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएका ना. ६ ख ७५५० नम्बरको ट्रकमा सहचालकका रूपमा कार्यरत थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्कालै नमूना अस्पताल, हरिवन लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा सोही ट्रकका अन्य दुई मजदुर—२५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान पनि करेन्ट लागेर घाइते भएका छन्। उनीहरूको हरिवन स्थित नमूना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाल ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्