जनकपुरधाम । जनकपुरधाममा निर्माणाधीन पत्रकार महासंघ मधेश प्रदेशको भवन कार्यमा नेपाल बार एशोसिएशन जनकपुर शाखाले अवरोध गरे पछि वकिल र पत्रकारबीच झडप भएको छ।
गुठ्ठी संस्थान सँग सम्झौता गरी जनकपुरधाम उपमहानगरपालिका–४, भूतनाथ मन्दिरको दक्षिणपट्टि रहेको ४ कठ्ठा जग्गामा महासंघले भवन निर्माण सुरु गर्न लागेको थियो। महासंघका अध्यक्ष श्याम कुमार बञ्जाराका अनुसार जग्गा कानुनी प्रक्रिया पूरा गरी २० वर्षको लिजमा प्राप्त गरिएको हो।

तर, बार एशोसिएशन जनकपुरले सो जग्गा लामो समय देखि पार्किङ स्थलको रूपमा प्रयोग हुँदै आएको दाबी गर्दै निर्माण रोक्न माग गरेको छ। साउन २० गते बार एशोसिएशनले सूचना जारी गर्दै छेउको जग्गामा गाडी पार्किङको आदेशसमेत दिएको थियो।
विवादको क्रममा दुवै पक्षबीच सामान्य झडप भयो। वकिलहरूले पत्रकारले आफ्नो कोट च्यातेको आरोप लगाएका छन् भने पत्रकार महासंघले अध्यक्ष बञ्जारा र महिला उपाध्यक्ष ज्योति झा माथि वकिलहरूले हातपात गरेको दाबी गरेको छ।

झडप नियन्त्रणका लागि प्रहरीले अध्यक्ष बञ्जारालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो। घटनामा अध्यक्ष बञ्जारा, उपाध्यक्ष झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति), पत्रकार दिवाकर साह र अनिल निराला घाइते भएका छन्। उनीहरूको उपचार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
गुठ्ठी संस्थानका अनुसार, २०८२ जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गरी प्राप्त प्रस्ताव मध्ये पत्रकार महासंघको वार्षिक बहाल रकम ३ लाख १ हजार रुपैयाँ सर्वोच्च मूल्याङ्कन भएको र साउन १ गते औपचारिक स्वीकृति दिइएको थियो। तर, बार एशोसिएशनले बलजफ्ती कब्जा गर्न खोज्दा विवाद चर्किएको हो।



















आफ्नो प्रतिकृया दिनुहोस्