जनकपुरधाम । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकलाई विगतका सहमति अनुसार संशोधन नगरे कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रबार महासंघको स्थानीय आन्दोलन परिचालन समितिका संयोजक गौरीशंकर लाल कर्णले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारलाई सहमति कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका हुन् ।

महासंघले २०७५, २०७८ र २०८० सालमा क्रमशः ३०, ५१ र ६ बुँदे सहमति गर्दै २०८१/८२ मा लामो आन्दोलन समेत सञ्चालन गरेको स्मरण गराउँदै, त्यही सहमति समेटेर विद्यालय, विद्यार्थी तथा शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन ल्याउनु पर्ने माग गरेको छ ।
उनले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले गरेको ९ बुँदे निर्णय र प्रमुख दलका सचेतकहरूले असार १५ भित्र विधेयक पारित गर्ने गरेको लिखित प्रतिबद्धता अझै कार्यान्वयन नभएको आरोप लगाए ।प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन शिक्षक कर्मचारीको भावना र विगतका सहमति अनुसार नआएको महासंघको भनाइ छ ।

प्रतिवेदनमा अस्थायी शिक्षकको स्थायीत्व, गोल्डेन हेन्डसेक रकमको स्पष्टता, स्थायी शिक्षकको बढुवा, अध्यापन अनुमतिपत्रको नवीकरण, शिक्षक सरुवा प्रणाली, विद्यालय कर्मचारीको पद तथा सेवा सुविधा, बालकक्षा शिक्षकको व्यवस्था, शिक्षण काउन्सिलको स्थापना र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व जस्ता माग समेटिन नसकेको भन्दै महासंघले देशव्यापी रूपमा पालिकाहरू मार्फत ध्यानाकर्षण पत्र बुझाउने अभियान चलाएको जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्