जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपूरा रुपैठामा शनिबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदाय बीच विवाद उत्पन्न भएको छ। सामान्य भनाभन बाट सुरु भएको विवाद ढुंगा हानाहान सम्म पुगे पछि स्थानीय वातावरण केही समय निकै तनावग्रस्त बनेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ढुंगा हानाहानका कारण दुई जना स्थानीय घाइते भएका छन्। उनीहरूको नाम खुल्न बाँकी भए पनि उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरी स्रोतले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरी टोलीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको थियो। यस्तै, थप अप्रिय घटना हुन नदिन नजिकका प्रहरी चौकी तथा प्रहरी लाइनबाट समेत अतिरिक्त सुरक्षा फोर्स परिचालन गरिएको छ। अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटिएका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा रहेको दाबी गरे पनि स्थानीय स्रोतका अनुसार दुबै समुदाय बीच अझै कुनै औपचारिक सम्झौता भएको छैन। केही युवा समूहहरू अझै आक्रोशित देखिएका कारण परिस्थिति अस्थिर हुन सक्ने आशंका गरिएको छ।
यस घटना बारे जिल्लाका राजनीतिक दलका नेताहरूले शान्ति कायम गर्न सबैलाई संयमित हुन आग्रह गरेका छन्। जनप्रतिनिधिहरूले पनि दुबै समुदायबीच संवाद मार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्