जनकपुरधाम । आज देशभर विश्वकर्मा बाबाको पूजा–आराधना गरी विश्वकर्मा पूजा पर्व तथा वास्तु दिवस मनाइयो। हरेक वर्ष आश्विन संक्रान्तिका दिन विभिन्न उद्योग, कारखाना तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिरमा पूजा गर्ने परम्परा रहि आएको छ।
धार्मिक विश्वास अनुसार औजार तथा सवारीसाधनमा यस दिन पूजा गरेमा ती साधन दीर्घायु हुने, बिग्रिन नदिने र राम्रो परिणाम दिने मान्यता छ। त्यसैले आज वर्कशप, कारखाना मात्र नभई इञ्जिन जडित सवारी साधनमा पनि विशेष पूजा गरिएको थियो।
धर्मग्रन्थ अनुसार द्वापर युगमा भगवान् कृष्णलाई असुरहरूले दुःख दिँदा विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ एकै रातमा निर्माण गरी सुरक्षित पारेका थिए। यही कारण उहाँलाई महान् वास्तुविद् मान्दै पूजा गर्ने परम्परा बसाएको बताइन्छ। वास्तुविद्हरुले आजकै दिनलाई वास्तु दिवसका रूपमा पनि मनाउने गर्छन्।
यस अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको सफाई सवारीसाधन, दमकल लगायत उपकरणहरूको समेत विशेष पूजा गरिएको थियो। उक्त पुजा को समयमा अधिकारी, कर्मचारी र स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। धार्मिक विश्वास अनुसार आजको दिन उपकरणमा पूजा गर्दा ती धेरै समयसम्म टिक्ने, बिग्रिन नहुने र काममा राम्रो नतिजा आउने मान्यता रहेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्