काठमाडौं । भदौ २३ र २४ मा भएका घटना सम्बन्धी जाँचबुझका लागि गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको विदेश भ्रमण रोक्न सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आयोगको आज बसेको बैठकले ओली सँगै पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई अनुसन्धानको दायरामा रहेको भन्दै यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “उक्त व्यक्तिहरु अनुसन्धानको दायरामा रहेका हुँदा उनीहरुलाई कुनै पनि बेला आयोगमा उपस्थित हुनुपर्ने आवश्यकता पर्न सक्छ । त्यसैले आयोगको पूर्व स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाउन आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको छ।”
यस्तै, आयोगले भदौ २३ र २४ का घटनाको छानबिनलाई प्रभावकारी बनाउन विज्ञ सहितको थप जनशक्ति आवश्यक देखिएको भन्दै गृह मन्त्रालयलाई आवश्यक सहयोगका लागि पत्र पठाउने निर्णय समेत गरेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्