सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुख सहित चार जना माथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी, र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारी लाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित चिकना स्थानमा प्रदेश सरकारको योजना अन्तर्गत गरिएको सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप लागेको हो।
अख्तियारले उनीहरूबाट करिब २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बराबरको भ्रष्टाचार भएको दाबी गर्दै उक्त रकम बिगोका रूपमा असुल गर्न माग सहित मुद्दा दायर गरेको छ।
सर्वोच्च अदालतका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ। उनले जानकारी दिँदै पूर्व डिभिजनल इन्जिनियर दास हालै रेल विभागका महानिर्देशकको पदबाट अवकाश प्राप्त भएको पनि बताएका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्