जनकपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशका सांसद सरोज कुमार सिंह कुशवाहा फेरि पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो।
आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी सिंह लाई नियन्त्रणमा लिएको जनाएको छ। उनी माथि विकास कोषका योजनाहरूमा नक्कली उपभोक्ता समिति गठन गरी रकम हिनामिना गरेको अभियोग लागेको छ। आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
यस प्रकरणमा सिंह सहित १६ जनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यसअघि पनि गत जेठ २९ गते सिंह लाई अनामनगर बाट पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो। तर पछिल्लो अनुसन्धानमा उनले विभिन्न उपभोक्ता समितिहरूको नाममा विकास कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको आयोगको दाबी छ।
आयोगका अनुसार सिंहले आफ्ना निजी सचिव विनोद कुमार लाल कायस्थ मार्फत सो रकम हिनामिना गरेका थिए। कायस्थलाई आयोगले गत असोज १२ गते नै पक्राउ गरिसकेको छ। अब आयोगले सिंह र कायस्थ सँगै सो प्रकरणमा संलग्न अन्य उपभोक्ता समितिका पदाधिकारीहरू माथि पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंह पूर्व गृह राज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन्। उनीमाथि भ्रष्टाचार मुद्दा दायर भए पछि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले उनको सांसद पद निलम्बन भएको पुष्टि गरेका छन्।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा १७ र १९, साथै संविधानको धारा १८७(६) अनुसार सिंह स्वत: निलम्बनमा परेका हुन्।
सिंहको निलम्बन सँगै मधेश प्रदेश सभामा निलम्बित सांसदहरूको संख्या तीन पुगेको छ। यसअघि नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर माथि भ्रष्टाचार मुद्दा दायर भए पछि र अर्का सांसदलाई मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा जन्म कैद सजाय भएपछि निलम्बन गरिएको थियो।
आयोगले यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरू माथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्