१६ फागुन,जनकपुरधाम : धनुषामा प्रेम सम्बन्धको निहुँमा एक २० वर्षीय युवकको विभत्स हत्या भएको छ। हंसपुरका सुमित कुमार मण्डलको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनकी प्रेमिका, उनका काका र भाइलाई पक्राउ गरेको छ।
औरही गाउँपालिका-६ चक्कर स्थित खेतमा सुमितको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले २४ घण्टा नबित्दै घटनाको रहस्य खोलेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरका अनुसार, बुधबार साँझ सुमित आफ्नी प्रेमिका काजल मण्डललाई भेट्न गएका थिए।

सोही क्रममा काजलका काका परमेश्वर मण्डलले उनीहरूलाई सँगै फेला पारे पछि आफ्ना भतिज दिपेश मण्डललाई बोलाएर सुमितमाथि कुटपिट गरेका थिए। कुटपिट पछि उनीहरूले सुमितको हात बाँधी खेतमा लगेर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका थिए।
हत्या पछि प्रमाण लुकाउन सुमितको मोटरसाइकल छिमेकी गाउँमा रहेको साथीको घरमा लुकाइएको समेत अनुसन्धानबाट खुलेको छ। विगत एक वर्ष देखि सुमित र काजल बीच प्रेम सम्बन्ध रहँदै आएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका तीनै जना र घटनामा प्रयोग भएको हतियारलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्