प्रधानमन्त्रीको संकेतपूर्ण अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग; कांग्रेस सभापति थापाले सरकारको कार्यशैली, प्रेस स्वतन्त्रता र जवाफदेहिता माथि उठाए गम्भीर प्रश्न।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाली कांग्रेसका सभापति गगन थापाका पछिल्ला सार्वजनिक अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। प्रधानमन्त्री शाहको चेतावनीपूर्ण भनाइपछि सभापति थापाले सामाजिक सञ्जाल मार्फत दिएको प्रतिक्रियाले सरकार र प्रमुख प्रतिपक्ष बीचको राजनीतिक दूरीलाई थप चर्चामा ल्याएको छ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा ‘सही समय आएपछि सबैको खराब समय आउँछ। एक–दुई जना उम्किएर आफूहरू बच्ने सपना कसैले नदेखे हुन्छ’ भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका थिए। उनको उक्त भनाइमा कुनै व्यक्ति, संस्था वा घटनाको नाम उल्लेख गरिएको छैन। तर पछिल्लो समय सरकारको कार्यशैली, राज्यशक्तिको प्रयोग र विभिन्न विवादित घटनालाई लिएर सार्वजनिक बहस भइरहेका बेला आएको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी जन्माएको छ।
प्रधानमन्त्रीको पोस्टमा उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले समेत ‘सही समय कहिले आउँछ ?’ भन्दै प्रतिक्रिया दिएका थिए। यसले सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति बारे थप चर्चा बढाएको थियो।
प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएको भोलिपल्ट कांग्रेस सभापति गगन थापाले पनि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन’ लेखेका थिए। उनको यो प्रतिक्रियालाई प्रधानमन्त्रीको चेतावनीपूर्ण अभिव्यक्तिको राजनीतिक जवाफका रूपमा हेरिएको छ।
यसअघि नै थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारको कार्यशैली प्रति गम्भीर प्रश्न उठाएका थिए। विशेषगरी सञ्चारमाध्यममा प्रहरी प्रवेश, पत्रकार पक्राउ, प्रेस स्वतन्त्रता र राज्यका निकायको भूमिकालाई लिएर उनले सरकारसँग जवाफ मागेका थिए।
थापाका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारका निर्णय र कामकारबाहीमाथि प्रश्न उठाउनु नागरिक तथा प्रतिपक्षको अधिकार हो। भ्रष्टाचार नियन्त्रण र सुशासनको नाममा राज्यशक्तिको प्रयोग गर्दा कानुनी प्रक्रिया, निष्पक्षता र नागरिक अधिकारको सम्मान हुनुपर्ने उनको धारणा छ। सरकारले राम्रा कामको जस लिने तर विवादित निर्णय र कमजोरीको जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै उनले सत्तारूढ दललाई जवाफदेही बन्न आग्रह गरेका थिए।
पत्रकार पक्राउ प्रकरणले पनि सरकारमाथिको आलोचनालाई थप बल दिएको छ। सञ्चारमाध्यम र पत्रकार माथि हुने प्रहरी कारबाहीले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकारमा असर पार्न सक्ने भन्दै विभिन्न पक्षले चासो व्यक्त गरेका छन्। यस विषयमा निष्पक्ष छानबिन र जिम्मेवार पक्षको पहिचान हुनुपर्ने मागसमेत उठिरहेको छ।
कांग्रेस सभापति थापाले सरकारको आर्थिक तथा प्रशासनिक कार्यशैली माथि पनि प्रश्न उठाएका छन्। निजी क्षेत्र, व्यवसायी र कर्मचारीतन्त्रमा विश्वासको वातावरण निर्माण नगरी आर्थिक गतिविधि विस्तार हुन नसक्ने उनको तर्क छ। सरकारका निर्णयमा नीतिगत स्पष्टता, कानुनी स्थिरता र संस्थागत मर्यादा कायम हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री बालेनको चेतावनी र गगन थापाको प्रतिक्रियाले अहिलेको राजनीतिक बहसलाई जवाफदेहिताको विषयमा केन्द्रित गरेको छ। गलत काम गर्ने जोकोही कानुनी दायरामा आउनुपर्ने मान्यता जति महत्त्वपूर्ण छ, राज्यका निकायले गर्ने हरेक निर्णय पनि कानुन र स्थापित प्रक्रियाअनुसार हुनुपर्ने लोकतान्त्रिक अपेक्षा उत्तिकै महत्त्वपूर्ण छ।
प्रधानमन्त्रीको अभिव्यक्ति कसलाई लक्षित थियो भन्ने स्पष्ट नभए पनि सरकारका निर्णय र कार्यशैली माथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी सरकारकै हो। अब सरकारले सुशासन, प्रेस स्वतन्त्रता, कानुनी शासन र राजनीतिक जवाफदेहिताका विषयमा व्यवहारबाट कस्तो सन्देश दिन्छ भन्ने विषय आगामी दिनमा थप चासोको केन्द्र बन्ने देखिन्छ।




















आफ्नो प्रतिकृया दिनुहोस्