७मंसिर,जनकपुरधाम(हिमांशु चौधरी): सांस्कृतिक पर्व सामा चकेवाअन्तर्गत आ–आफ्ना भाइलाई आशीष दिन विन्ती गरिएका गीतले मिथिलाञ्चलमा स्नेहपूर्ण वातावरणको बोध गराइरहेको छ । आबह सामा, आबह चकेवा हे अपन देश भाइ मोर हे आशीष दैह जीबह भाइ लाख बरीस … भाइ–बहिनीको प्रेमको प्रतीक रहेको सामाचकेवालाई गीतका माध्यमले आह्वान गरी दिदीबहिनीले भाइको दीर्घायुको कामनाका गरी श्रद्धापूर्वक मनाइरहेको यो गीत त्यसको दृष्टान्त हो ।

सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । भ्राति द्वितीयाका दिन दिदीबहिनीले सामाचकेवाका पात्रहरूको माटोकोे आकृति बनाई छठपर्वको खरनादेखि पूर्णिमासम्म यस पर्वको आयोजन गर्ने गरेको पाइन्छ । प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व विशेष गरी बालिकाहरूको भए पनि युवती र प्रौढहरूको उत्साहपूर्वक खेल्ने गरेको देखिन्छ । सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुवैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ ।
त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामाचकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् । मैथिल ललनाद्वारा सामा चकेवाका माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने परम्परा रहेको छ । छठपर्वको खरना (पञ्चमी) का दिन मूर्तिहरूलाई सेतो बनाउनका लागि अरूवा चामलको लेपन गरिन्छ । त्यसपछि सुहाउँदो र इच्छाअनुसारका रङहरू प्रयोग गरी सामालाई सिँगारिन्छ ।

हरिबोधिनी एकादशीभन्दा पूर्व सम्पूर्ण सामग्री बनाइ सकिन्छ । तराई भेगमा घरघरमा माटाका मूर्तिहरू बनाउनुलाई महिलाको मूर्तिकलाप्रतिको चाख र कौशल प्रदर्शन गर्ने माध्यमका रूपमा पनि लिइन्छ । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । कहीँकहीँ साथी–सँगी र नन्द–भाउजूबीच कोसेलीका रूपमा पनि सामा पठाउने गरिएको पाइन्छ । कतिपय दाजुभाइ नहुने दिदीबहिनीले भाइको जन्मको भए ढोल बजाएर सामा खेल्नेछु भनी भाकलसमेत गरेको पाइन्छ । यस अवसरमा एउटा चङ््गेरा (बाँसबाट बनाइने ढक्की विशेष) मा सामाका मूर्तिहरू सजाएर राखिन्छ ।
यसअन्तर्गत सामाको भोजनका लागि भनेर एउटा झपना (छोप्ने) भएको सामाको पौति (बाँस वा खर वा सीकीबाट बनाइएको भाँडो विशेष) मा च्यूरा र गुड राखिन्छ । रातिको समयमा खानपिन गरी महिला वर्ग सामूहिकरूपमा डाला लिएर एकत्र भएर विभिन्न प्रकारका गीतहरू गाउँदै सामा खेल्ने गर्दछ । गीतहरूमा भाइबहिनीको आत्मीयता र स्नेह, सामाको जीवनमा परेका दुःख, चुगिलाले चुक्ली लगाएकामा उसलाई गरिने गाली आदि विषयहरू समेटिएका हुन्छन् ।
चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने र पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवालाई नयाँ धानको बालाले पूजा गर्ने चलन पनि रहेको छ ।

यस पर्वमा दिदीबहिनीले मनोबाञ्छित फल प्राप्तिका कामनाका साथै मूर्तिहरूलाई चलायमान गरी वृन्दावनमा आगो लगाउने, चुगलाको मुख आगोले पोल्ने तथा विसर्जन गर्नुपूर्व दाजुभाइले सामालाई घुँडामा राखी फुटालेपछि सबैले अन्य मूर्तिहरू फुटाल्छन् । माटोका मूर्तिहरू त्यत्तिबेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर मार्मिक, मनोरञ्जक एवं मर्मस्पर्शी गीतिसंवाद बोल्छन्:कानि खिजि चिठिया लिखौलनि फलाँ बहिनो भैजौलनि हजामका हाथ चिठिया दिहन्हि हो भैया, फलाँ भैयाके हाथ भेला घोडा पर सवार बाबाक सम्पतिआ हो भैया भतिजबा के ओ आस हम परदेशिन हो भैया सिन्दूरवा केर हो आस … ।
यो गीतमा बहिनीले भाइलाई हजाममार्फत पत्र पठाउँछिन्, भाइ पत्र पाउनेबित्तिकै घोडामा सवार भई सिन्दुर र टिकुलीसहित बहिनीकहाँ आउँछन् । बहिनीले मसँग धनसम्पति पर्याप्त छ, मलाई तपाईँसँग मेरो सिन्दुरको रक्षाको आशामात्र छ भनी उल्लेख गर्नाले भाइबहिनीको शाश्वत प्रेमलाई दर्शाउँछ । सूक्ष्मरूपले विचार गर्दा सामा खेल ग्रामीण महिलाहरूको अभिनयजस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व मानिएको देखिन्छ । यसको सर्वप्रथम चर्चा पद्मपुराणमा पाइन्छ ।
भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भुत भातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद रहेको छ । पद्मपुराणमा सामा चकेवाको कथा सप्रसङ्ग उल्लेख गरिएको छ । यसअनुसार कृष्णका सोह्र हजार एक सय आठ रानी थिए । उनीहरुमा रूक्मिणी, सत्यभामा, कालिन्दी, मित्रविन्दा, नाग्नजिति, सुलक्ष्मणा, सुशीला र जाम्बवती आठ पटरानी थिए ।
ऋक्षराज (भालुहरूको राजा) जाम्बवानले कृष्णबाट शमन्तक मणिका लागि भएको युद्धमा पराजित भएपछि मणिका साथै छोरी जाम्बवतीलाई कन्यादान दिएका थिए । यही जाम्बवतीबाट शाम्ब छोरा र श्यामा (सामा) नामको छोरी प्राप्त भएको थियो । पद्मपुराणका अनुसार सामा र वृन्दावनका एक कुमार चारूवक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चुडक (चुगला) पनि सामालाई प्रेम गर्दछन् । सामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई सामाको सतित्व सम्बन्धमा झुठा कुराहरू सुनाइदिन्छ ।
कृष्ण छोरी सामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् । चारूवक्य सामाको विरह व्यथाले महादेवको तपस्या गरी चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीका रूपमा वृन्दावनमा बस्न थाल्दछन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा शाम्ब फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भइ बहिनी सामा र चारूवक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गइ तपस्या गर्न थाल्छन् ।

सामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा च्रडक किचिएर मर्छ । यसपछि भगवान विष्णु शाम्बप्रति खुशी भइ सामा र चारूवक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदिेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता छ । सामा चकेवा पर्वमा श्यामा र चारूवक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ ।

भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारूवक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो । संस्कृतिविद् रामभरोस कापडिका अनुसार यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घरपरिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर, जङ्गल– जीवनकै सिद्धान्तअनुरूप वृन्दावन जङ्गल सम्बन्धको अद्भूत समन्वय रूप हो । सामाको सन्देशले समाजमा भावनात्मक एवं रागात्मक सम्बन्ध स्थापित गराउनमा पूर्णसार्थक देखिएको छ ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्