३१ असार,काठमाडौँ :प्रतिनिधिसभाको आजको बैठकले उप-सभामुख पदमा सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा भएको उप-सभामुख पदको निर्वाचन पक्रिया मार्फत भुसाललाई उप-सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो ।
बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको संख्याको बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बैठकमा घोषणा गर्नुभएको थियो । यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव प्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

उक्त प्रस्तावको नेकपा(एकीकृत समाजवादी)की सांसद लक्ष्मी कुमारी चौधरीले समर्थन गर्नु भएको थियो । त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उप-सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।
दुबै प्रस्ताव माथिको संयुक्त छलफलमा सांसदहरू खगराज अधिकारी, डा मिनेन्द्र प्रसाद रिजाल, जयपुरी घर्ती, सरलाकुमारी यादव, सुरेन्द्र प्रसाद यादव, चन्दा चौधरी, राजेन्द्र लिङ्गदेन, दुर्गा पौडेल, प्रेम सुवाल, शेर बहादुर तामाङ, चित्रलेखा यादव, रामकुमारी चौधरी र बिन्दा पाण्डेले भाग लिनुभएको थियो । छलफलको क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट उपसभामुख पदकी उम्मेदवार भट्टराईलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको थियो ।

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ ।(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्