२८आश्विन,काठमाडौँ : नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति असहमति जनाएको छ । महासङ्घले निर्वाचन आचारसंहिता अन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहिता समेत पालना भए–नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति असहमति जनाएको हो ।

आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । “नेपाली संचार जगतले स्वनियमनको सिद्धान्त अनुसार संचार क्षेत्र आफैँले बनाएको आचारसंहिता पालना गर्दै आइरहेको तर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभाग मार्फतको अनुगमन नेपाली संचार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौँ”, महासंघद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरी आयोगले चुनाव प्रचार,प्रसार सम्बन्धी विज्ञापनको विषयमा अनलाइन संचार माध्यमप्रति विभेद गरिएकामा पनि महासंघको ध्यानाकर्षण भएको छ । महासंघले लोकतन्त्रमा सबै संचार माध्यमको भूमिका समान हुने जनाउँदै संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक हुने जनाएको छ । महासंघले तत्काल सच्याएर सबै संचार माध्यमलाई समान व्यवहार गर्न र अनलाइन संचार माध्यमले पनि निर्वाचनका प्रचार,प्रसार सम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।
आफ्नो प्रतिकृया दिनुहोस्