महोत्तरी, २ मंसिर : मतदान पूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचार प्रसार रोकेका छन् । दलका प्रतिनिधि र सबै उम्मेदवार आन्तरिक छलफलमा जुटेका देखिँदो छ । अगामी आइतबार सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि बिहीबार मध्यरात देखि खुला प्रचार अवधि सकिएर स्थिर समय सुरु भएपछि सबैको ध्यान मतदानमा पुगेको छ । जिल्लाका सबै क्षेत्रमा सुरक्षा गस्ती बढेको छ । आम मतदाताले भय रहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्ला प्रशासन कार्यालय र सम्बद्ध सुरक्षा निकायले जानकारी दिएका छन् ।

“हामीले जिल्ला भरिका सबै मतदान केन्द्रको पटक पटक अनुगमन गरेर आवश्यक सुरक्षा प्रबन्ध सुदृढ गरेका छौँ”, जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भन्नुभयो, “आम मतदाता सँग ढुक्क भएर मतदान गर्न हाम्रो अपिल छ ।” जिल्लाका कुनै भेग, क्षेत्र वा बस्तीमा अवाञ्छित गतिविधि हुन नपाओस् भन्नेमा स्थानीय प्रशासन र सुरक्षा निकाय सचेत, सजग र सक्रिय रहेको उहाँको भनाइ छ । जिल्लामा सुरक्षा प्रबन्धका लागि करिब पाँच हजार संख्यामा सुरक्षा जनशक्ति परिचालित गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्लामा जम्मा दुई सय ५८ मतदान स्थल र चार सय ९९ मतदान केन्द्र छन् । सैनिक व्यारेक र कारागारमा गरी दुई अस्थायी मतदान केन्द्र सहित मतदान केन्द्रको जम्मा संख्या पाँच सय एक रहेको छ । सबै ठाउँमा मतदान प्रयोजनका सामग्री सहित मतदानकर्मी जनशक्ति पुगी सकेका जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्ला भरिका यी मतदानकेन्द्रमा चार हजार पाँच जना कर्मचारी (मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य आवश्यक जनशक्ति) परिचालित गरिएको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेनले जानकारी दिनु भयो ।
मतदान केन्द्रको स्वयंसेवी सुरक्षा प्रबन्धका लागि अस्थायी प्रहरी (म्यादी प्रहरी) र अन्य आवश्यक सुरक्षा जनशक्ति प्रत्येक मतदान केन्द्रमा पुगिसकेका प्रजिअ पहाडीको भनाइ छ । निर्वाचन अवधिभरि तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ छन् । त्यसैगरी राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था र थप संवेदनशीलता बारे सुक्ष्म निगरानी गरि रहेको जनाइएको छ ।

मतदानस्थलको संवेदनशीलता लाई मध्यनजर गर्दै थप सुरक्षा जनशक्ति परिचालित गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । “जिल्लाका मतदानस्थल मध्ये एक सय ४३ वटा अति संवेदनशील, एक सय १४ संवेदनशील र एक सामान्यका रुपमा वर्गीकरण गरिएको छ”, प्रजिअ पहाडीले भन्नुभयो, “कतै अप्रिय घटना नहोस् भन्नेतर्फ पूर्ण सजगता अपनाइएको छ, संवेदनशीलता वर्गीकरण गरिए अनुसार त्यसको समुचित प्रबन्धमा जनशक्ति परिचालित छ ।” जिल्लाको भारतसँग सीमा जोडिएको करिब ३९ किलोमिटर दूरीभित्र नियमित सुरक्षा गस्ती भइरहेको पहाडीले जानकारी दिनु भयो ।
सीमाक्षेत्र बाट हुने दोहोरो आवत जावत गर्न स्थानीय प्रशासनले बिहीबार मध्यरात देखि नै पूर्णरुपमा रोक लगाएको छ । सवारी साधनमात्र नभएर सीमाक्षेत्र वारपार गर्न पैदलयात्रीलाई पनि रोक लगाइएको प्रजिअ पहाडीले स्पष्ट पार्नुभयो । सीमाक्षेत्र बाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न दुवै (नेपाल/भारत)तर्फ सीमासँग जोडिएका बस्तीमा सुरक्षा पोष्ट खडा गरिएका छन् । भारतीय सुरक्षा अधिकारी र प्रशासकसँग नियमित सम्पर्कमा रहिएकोे उहाँको भनाइ छ ।

मङ्सिर–४ गते बिहान सात बजेदेखि सुरु हुने मतदानको आवश्यक चाँजो र व्यवस्थापन पूरा भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन प्रयोजनको खुला प्रचार अवधि बिहीबार मध्यरातमै सकिएर अब स्थिर समय सुरु भएको हुँदा आचार संहिताको पूर्ण पालनाका लागि सम्बद्ध सबैपक्षसँग पटक पटक अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेश सभा क्षेत्र छन् ।
दुवैतर्फ गरी दुई सय २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनु हुन्छ । ती मध्ये क्षेत्र नं १ मा ५५ जना (प्रतिनिधि सभा र प्रदेश सभा समेत), क्षेत्र नं २ मा ५६ जना, क्षेत्र नं ३ मा ५९ जना र ४ मा पनि ५९ जना हुनु हुन्छ । यी सबै गरी स्वतन्त्र उम्मेदवारको संख्या एक सय ३६ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा पुरुष दुई लाख १५ हजार एक हजार ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य (तेस्रोलिङ्गी) एक जना रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै जानकारी दिइ सकेको छ ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्