काठमाडौँ, ५ पुस : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले रासस जस्तो संस्थाको पहिलो दायित्व जनताप्रति नै हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाको आज यहाँ आयोजित वार्षिक साधारण सभामा उहाँले ‘नेपालको रासस नेपालीको समाचार’ अभियान चलाउनु पर्नेमा जोड दिनु भयो । “व्यवस्थापनले समाचारको गुणस्तरीयता वृद्धिमा ध्यान दिएको छ, प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका बेला राससले २४ सै घण्टे सेवा पूरा गरेको छ, पत्रकारिता सामूहिक कार्य भएकाले त्यसअनुरुप काम गर्ने वातावरण बनाएका छौँ”, महासंघको पूर्वध्यक्ष समेत रहनुभएका कार्यकारी अध्यक्ष झाले भन्नु भयो ।

रासस सञ्चालक समितिबाट विनियम संशोधनको निर्णय भएको उल्लेख गर्नुहुँदै उहाँले छलफलको प्रक्रियाबाट त्यसलाई अन्तिम रुप दिइने बताउनु भयो । राससका महाप्रबन्धक सिद्धराज राईले राससकर्मी आफ्ना कर्तव्यप्रति सचेत रहेको उल्लेख गर्नुहुँदै यसमा महासंघले पनि रचनात्मक गतिविधि बढाएर सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले राससमा श्रमजीवी पत्रकारका समस्या नआउने विश्वास व्यक्त गर्नुहुँदै नेपाली पत्रकारिताको ऐनाका रुपमा रासस स्थापित भएको बताउनुभयो ।

प्रतिष्ठान प्रदेश समितिले महासंघका पूर्वध्यक्षको व्यक्तिवृत्त (प्रोफाइल) तयार पार्न लागेको जानकारी पनि उहाँले गराउनु भयो । कार्यक्रममा रासस सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रधान सम्पादक एकराज पाठक, महासंघका पूर्वसचिव एवं रासस प्रशासन शाखा प्रमुख शीतल प्रसाद महतो, महासंघ रासस प्रतिष्ठान शाखाका पूर्वध्यक्ष सूर्य चन्द्र बस्नेत, रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँ र सदस्य कृष्ण सापकोटा लगायत राससमा क्रियाशील संघ , संस्थाका प्रतिनिधिले राससको समाचार सेवाका विषयमा विस्तृतरुपमा छलफल गरिनुपर्ने आवश्यकता औँल्याउनु भयो । महासंघ रासस प्रतिष्ठान शाखाको बन्दसत्रले सचिव छवि लाल कुमाल र कोषाध्यक्ष दिलीप अधिकारीको प्रतिवेदन पारित गर्दै रचनात्मक गतिविधिका लागि कोष वृद्धि गर्ने निर्णय गरेको छ । (रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्