२२ जेठ,काठमाडौँ : यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर संकलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम साता देखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गर्नु भयो ।

उक्त सफाइ टोलीमा संलग्न पूर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहण पछि फर्कने क्रममा निधन भएको थियो । प्रधानसेनापति शर्माले सो अवसरमा उहाँहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षा सम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गर्नु भयो । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गर्नु भयो ।
कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धति सँग जोडिएको तथा प्रकृतिको दीगोपन र पर्यावरण जोगाउनु पर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो । नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दर कुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताउनुु भयो ।
हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उहाँले हिमाललाई वातावनुकूलित तुल्याउने पहिलो शर्त रहेको बताउनु भयो । अभियान सञ्चालनका क्रममा स्थानीय शेर्पाले केही समय भए पनि रोजगारी प्राप्त गरेको तथा अरु आरोहीलाई पनि उत्प्रेरणा प्राप्त भएको सो अवसरमा जानकारी दिइयो । नेपाल वातावरण पत्रकार संघका अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहर संकलन र पर्यावरण संरक्षणका लागि प्रचार प्रसारका हिसाबले महत्त्वपूर्ण सावित हुने धारणा व्यक्त गर्नु भयो ।

सफा हिमाल अभियानका क्रममा बिरामी भएका छमध्ये चार जनाको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ । सेनाले सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हाल सम्म एक सय नौ टन फोहर संकलन भइसकेको छ । सफा र स्वच्छ वातावरण सहितको पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको चुनौती भएको त्यसमा संलग्न व्यक्तिले प्रतिक्रिया दिनु भएको छ ।
पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाले जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटबाट प्रभावित हिमालको ओज र चमक कायम राख्न अभियान कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिमाल आरोहणबाट राजस्वमा ठूलो योगदान पुर्याएको छ । हिमालको सुन्दरता कायम राख्न बनेका ऐन, नियम र अनुगमन कडाइका साथ हुनुपर्छ ।” सो अवसरमा अभियानमा संलग्न विभिन्न क्षेत्रमा महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरियो ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्