२६ जेठ,काठमाडौँ : ‘एसियन इन्सुरेन्स मिट’, २०२३ काठमाडौँमा सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज उक्त सम्मेलन शुभारम्भ गर्दै बीमा क्षेत्रको पहुँच, विस्तार र सहज सेवा प्रवाहका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने बताउनु भयो । दिगो विकास लक्ष्य प्राप्त गर्न पनि बीमाको पहुँच बढाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले बीमा क्षेत्रको नियमनका लागि समन्वय र सहकार्य गरिनुपर्नेमा जोड दिनुभयो ।

“जोखिम हस्तान्तरण र व्यवस्थापनका लागि बीमा क्षेत्रको नियामक बीमक कम्पनी, पुनर्बीमा कम्पनी, बीमा मध्यस्थकर्ता लगायत पक्षहरू उत्तिकै जिम्मेवार हुन्छन् । बीमा क्षेत्रलाई दिगो विकास लक्ष्य प्राप्ति सँग जोड्ने, यस क्षेत्रका नयाँ चुनौती पहिचान गरेर समाधान गर्ने, प्राकृतिक विपद्बाट सिर्जित जोखिमको दायित्व हस्तान्तरण गर्ने, वित्तीय साक्षरता बढाउने लगायत विषयमा सबै पक्षको भूमिका रहन्छ”, अर्थमन्त्री महतले भन्नु भयो ।
यो सम्मेलनबाट बीमा क्षेत्रका अन्तरराष्ट्रिय अभ्यासबारे जानकारी लिने र विभिन्न देशका नियामक तथा बीमा कम्पनीबीच सम्बन्ध स्थापनाका लागि सहयोगी हुने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताउनु भयो । जलवायु परिवर्तनका असरले सिर्जना भएका प्राकृतिक विपद्लगायत जोखिमको दायित्व बहन तथा हस्तान्तरणबारे बुझ्न यो सम्मेलन सहयोगी हुने उहाँको भनाइ थियो । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको सम्मेलनमा इन्टरनेसनल एसोसिएसन अफ इन्सुरेन्स सुपरभाइजर्स, एसेस टू इन्सुरेन्स इनिसिएटिभ, एसियाली विकास बैंक लगायत संस्थाहरू सह-आयोजक छन् ।
तीन दिन सम्म चल्ने सम्मेलनमा विभिन्न देशका बीमा क्षेत्रका नियामक एवम् सरकारी अधिकारी, बीमा कम्पनीका सञ्चालक तथा व्यवस्थापक, बीमाविज्ञ, मध्यस्थकर्ता कम्पनीका प्रतिनिधि, बीमा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको छ । बिहीबार विभिन्न चारवटा विषयगत सत्रमा प्रस्तुति रहेको सम्मेलनमा आज शुक्रबार थप चारवटा सत्र र भोलि शनिबार तीनवटा सत्र सहित समापन गरिने जनाइएको छ ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्