गल्याङ, १४ असार : स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बंगुरको गोबर सफा गर्न थाल्नु हुन्छ । अनी पालैपालो बंगुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउनु हुन्छ । सिंजालीले बंगुरको स्यहार सुसार गरेर सात आठ बजेभित्र नै सकाउनु हुन्छ ।
वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बंगुरको स्यहार गरेर सक्काउनु उहाँको बाध्यता हो । समय भएपछि सारा बंगुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उहाँ कार्यालयतिर हानिनु हुन्छ । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बंगुर र पाठापाठीको अवस्था हरेर मात्र दल बहादुर अन्य काममा लाग्नु हुन्छ । सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बंगुरपालन गर्दै आउनु भएको छ ।
वार्षिक रू १४ लाख ४० हजार बराबरको मासु र बंगुरका पाठापाठी बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “एक महिनामा १८ देखि २० बंगुरका पाठापाठी जन्मिन्छन्”, सिंजालीले भन्नुभयो, “बंगुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।” उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उहाँले बताउनुभयो ।
“व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ”, सिंजालीले भन्नुभयोे, “यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।” गल्याङको हावापानी बंगुर पालनका लागि उपयुक्त भएको उहाँको भनाइ छ । सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताउनुभयो । “उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।
गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बंगुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताउनु भयो । नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रम अन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उहाँको भनाइ छ ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्