काठमाडौं : प्रधानमन्त्रीको निर्देशन पछि द्वन्द्व ग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यस तर्फ जाने भएको छ ।परराष्ट्र मन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।
‘इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ । ट्रान्जिट दुबइ । नेपाल एयरलाइन्सको जहाज जान्छ ’ पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले भने ।
यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किराती सहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसंगै प्रक्रिया अघि बढाइएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।
उद्धारका लागि पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले, आज पर्यटन मन्त्रीलाई बोलाएर निर्देशन दिनु भएको र आजै त्यसतर्फ जहाज पठाउने तयारी भएको बताए ।
उनले भने ‘ आजै जान्छ प्रधानमन्त्रीले त्यसका लागि निर्देशन दिनुभएको छ ।’ चार्टर विमान उडान र अवतरणका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ।नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालय मार्फत भईसकेकोले आजै इन्स्योरेन्स लगायतका प्रक्रिया पुरा गर्नेसाथ विमान त्यस तर्फ जानेछ ।
इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। एक नेपाली वेपत्ता छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्