काठमाडौं : बेलायत भ्रमणमा रहेका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पैट्रिक स्यान्डर्स, केसिबी, सिबिई, डिएसओ, एडीसी जनरल बीच लण्डन स्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटमा दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेशागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटघाटमा सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी श्री रत्न बहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्नल पल स्मिथको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधान सेनापतिले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडीजको भ्रमण गरेका छन् ।प्रधान सेनापति लण्डन स्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भएका थिए ।
त्यस अवसरमा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले प्रधान सेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपाल बिचको द्विपक्षीय राजनैतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्