२१ गते असोज, काठमाडौँ:मकवानपुरका गाउँगाउँमा दशै आए पछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघि सम्म मकवानपुरको गाउँ गाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजार बाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।
दशैको घटस्थापना सुरु भए देखि नै कुपहरा भित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबै भन्दा राम्रो रातो माटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भए पनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुर गढी ५ का बृद्धा उसाकला सापकोटा बताउँछीन ।
‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गए पछि एक–अर्कालाई हेरेर बसेका छौँ ।’ घर अघि थुचुक्क बसेकी गौरी पुरानो घर नियान्दै उनी भन्छिन्, ‘उहिलेको दसैँ त घर लिप पोत थालेको दिन बाटै सुरु हुन्थ्यो । अबको दसैँ त छोरा छोरी आउँलान् अनि लाग्ने त होला ।’
मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन । हरेक जसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ ।
यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइ रहेको छ । मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्