०४ कार्तिक,जनकपुरधाम: मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने भावना सहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहा बाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिका बाट–१ बाट २ जनाको उद्धार गरिएको हो ।
मेचीनगर देखि सुरु भएको यात्रा शनिबार जनकपुरधाम सम्म आइ पुग्दा ६८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।उद्धार गरिएका ८ जना पुरुष र ३ जना महिला लाई शनिबार नै मानव सेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृह प्रवेशका लागि लगिएको छ ।
उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनु भएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्