५ चैत्र, धनुषा: जनकपुरधाममा आगामी चैत १५ गते देखि तेस्रो इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ।
चौथो संस्करणको बीवाईडी इन्टर स्कूल क्रिकेट प्रतियोगिताको सफल आयोजना सँगै, जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त पहलमा तेस्रो संस्करणको इन्टर कलेज क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजक समितिका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कलेजहरूले चैत १३ गतेभित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ। प्रतियोगिता लाई स्थानीय क्रिकेट खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ, जसले उनीहरूलाई भविष्यका प्रतिस्पर्धात्मक अवसरहरूका लागि तयार पार्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता जनकपुरधामको बार्हबिघा रंगभूमि मैदानमा आयोजना हुनेछ, जसका लागि तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक समितिले जनाएको छ।
प्रतियोगिता लिग चरणका खेलहरू मार्फत सञ्चालन हुनेछ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। विजेता टोलीलाई आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ, साथै उत्कृष्ट खेलाडीहरू लाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ।
यस प्रतियोगिता कलेज तहका विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराई उनीहरूको प्रतिभा निखार्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य बनाउने उद्देश्यले आयोजना गरिएको हो।
आयोजक समितिले क्रिकेटप्रेमी दर्शकहरू लाई प्रतियोगिता अवलोकन गर्न उपस्थित भई खेलाडीहरू लाई हौसला प्रदान गर्न आग्रह गरेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्