२६ वैशाख, काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार र न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानून क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासमा कानूनी क्षेत्रको सक्रियता अपरिहार्य रहेको बताए। “कानून दिवसले न्याय तथा कानूनी क्षेत्रमा आवद्ध सबैमा आफ्नो दायित्वप्रतिको बोध गराउँदै समाजमा न्याय र विधिको शासन कायम गर्न प्रेरणा दिने विश्वास लिएको छु,” उनले भने।

राष्ट्रपतिले २००८ सालमा लागू भएको प्रधान न्यायालय ऐनपछि न्यायपालिकाले व्यावहारिक रूपमा शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अभ्यास थालनी गरेको उल्लेख गर्दै त्यस दिनको ऐतिहासिक महत्त्व माथि प्रकाश पारे।
उनले संविधानको मर्म अनुसार नयाँ कानून निर्माण तथा प्रचलित कानूनको परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै, न्यायपालिका प्रतिको जनविश्वास अभिवृद्धिका लागि कानून दिवसले सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरे।
कार्यक्रममा प्रमुख न्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्याय क्षेत्रमा कार्यरत दक्ष जनशक्तिलाई कायम राख्ने र भावी पुस्ता लाई उत्तराधिकारका रूपमा तयार पार्ने चुनौती बारे चर्चा गरे। उनले न्यायपालिकाको उद्देश्य पुरा गर्न आवश्यक स्रोत र साधनको सुनिश्चितता अपरिहार्य रहेको बताए।
आफ्नो प्रतिकृया दिनुहोस्