५ जेठ,पोखरा: पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कथा वाचिका देवी प्रतिभा पुन: कथा वाचन गर्न आउँदै छिन्।
प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पोखराको कोटि होममा धार्मिक कथा वाचन गर्ने कार्यक्रम तय भएको छ।
यस अघि पनि देवी प्रतिभाले १४ दिन सम्म कथा वाचन गरी श्रोताहरूको मन जितेकी थिइन्। उनको सुमधुर स्वर र विशिष्ट प्रस्तुति शैलीले धेरै भक्तजन लाई मोहित बनाएको थियो। यस पटक देवी प्रतिभा पोखरा फर्किँदै गर्दा अघिल्लो पटक छुटेका भक्तजनलाई फेरि एक पटक कथा श्रवण गर्ने सुनौलो अवसर मिलेको छ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज को विशेष पहलमा देवी प्रतिभा पुन: आमन्त्रित भएकी हुन्। देवी प्रतिभाले रामचरितमानस, भागवत पुराण जस्ता ग्रन्थहरू वाचन मात्र नभई जीवन्त शैलीमा व्याख्या गर्ने गर्छिन्, जसले उनको कथा वाचन लाई विशेष बनाउँछ।
उनको पुन: आगमन बारे महाराजले भने, “महाराज तपाईँले गरेको संकल्पलाई म सधैं साथ दिनेछु भन्ने उहाँको वचनले मलाई प्रेरणा दिएको छ। उहाँको पुन: आगमनले कोटिहोम पवित्र बन्नेछ। कोटिहोमको सफलताको मूलमा यही सद्भाव र माया रहेको छ।”
काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मिएकी देवी प्रतिभा (प्रतिभा पराजुली) अहिले अन्तर्राष्ट्रिय स्तरमै धार्मिक कथावाचनमा विशिष्ट स्थान बनाइ सकेकी छन्।
उनको आगमनसँगै कोटिहोम फेरि “प्यार से बोलो ना” को मधुर ध्वनिमा गुञ्जायमान हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्