१३ जेठ, जनकपुरधाम, मधेश प्रदेश : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ लाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ। आयोगको टोलीले जेठ १२ गते (शनिबार) जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोल बाट अपराह्न १ बजे कायस्थलाई नियन्त्रणमा लिएको हो।
आयोग द्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार, सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको नाममा रकम निकासी गराई आफ्ना तथा श्रीमतीको व्यक्तिगत खातामा जम्मा गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ती सबै आर्थिक कारोबारहरू स्वकीय सचिव कायस्थको माध्यमबाट गरिएको आयोगको भनाइ छ।
त्यसैगरी, कायस्थको व्यक्तिगत खाता मार्फत समेत सरकारी रकम हिनामिना भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू (मोबाइल, ल्यापटप आदि) समेत नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ।
अख्तियारले प्रारम्भिक तथ्य संकलनका आधारमा अनुसन्धानको दायरा सांसद सम्म विस्तार गरिएको संकेत दिएको छ। हाल घटनाको विस्तृत अध्ययन भइरहेको र आवश्यकता अनुसार थप व्यक्तिहरूलाई पनि अनुसन्धानको घेरामा ल्याउने तयारी भइरहेको जनाइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्