२० जेठ,पोखरा: प्रतिनिधि सभा सदस्य तथा पूर्व-स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धनमा प्रभावकारी बन्ने विश्वास व्यक्त गरेकी छन्।
महायज्ञमा सहभागी हुन पोखरा पुगेकी सांसद कार्कीले कोटिहोम तथा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजको प्रशंसा गर्दै यस्ता कार्यक्रमले पोखरालाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सहयोग पुग्ने बताइन्। उनले पोखरा आफैंमा पर्यटकीय राजधानी भएकाले धार्मिक गतिविधिको केन्द्र बन्दै गएको उल्लेख गरिन्।
कोटिहोममा सांसद कार्की सहित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले समेत दर्शन गरेका थिए।महायज्ञमा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको परम्परागत भेषमा उपस्थित भई कथा वाचन गर्दै सहभागीहरूको ध्यान खिचेकी थिइन्।
उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरीमा सजिएर पाण्डलमा देखिएकी थिइन्। उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ।
महायज्ञमा देश–विदेशबाट आएका साधु, सन्त र महन्तहरूको उपस्थितिले माहोललाई अझ भव्य बनाएको छ। अनुराधा पाण्डे द्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवात सँगै अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल लगायतका विद्वानहरूले कथा वाचन गरिसकेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्