२१ जेठ ,जनकपुर, मधेश प्रदेश: लामो समय पछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षको अवरोधका कारण फेरि स्थगित गरिएको छ। आज (बुधबार) शुरु हुने भनिएको पाँचौं अधिवेशनको पहिलो बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्ष दल जसपा नेपालले उभिएर विरोध जनाएपछि बैठक भोलि (बिहीबार) दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो।
जसपा नेपालका सांसद राम अशिष यादवले करिब १ महिना २४ दिनअघि सभामुखले संघीय छानबिन समिति गठन गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका थिए। उनले मधेश प्रदेशको वर्तमान जनमत नेतृत्वको सरकारले आर्थिक अनुशासनको खुलेआम उल्लंघन गरेको आरोप लगाए।
सांसद यादवले छानबिन समिति गठनमा ढिलाइ हुनु संसद प्रति सरकार गैरजिम्मेवार भएको संकेत भएको बताए। साथै, प्रदेश सरकारले गरिरहेको भ्रष्टाचारलाई संसदले मौन समर्थन गरिरहेको आरोप लगाउँदै छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी समेत दिए।
विरोध र अवरोधका बीच सभामुख रामचन्द्र मण्डलले बैठक बिहीबार दिउँसो १ बजे पुन: बस्ने गरी स्थगित गरिएको घोषणा गरे।
आजको कार्यसूचीमा प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारीले पाँचौं अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्य, प्रदेश प्रमुखको कार्यालयबाट पठाइएको विधेयक प्रमाणीकरण तथा मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढ्ने कार्य, साथै विभिन्न दलका नेता तथा प्रतिनिधिहरूबाट शुभकामना मन्तव्य दिने कार्यक्रम समावेश थियो।



















आफ्नो प्रतिकृया दिनुहोस्