२३ जेठ,पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ जेठ ३१ गते सम्म सञ्चालन हुने भएको छ। भक्तजनहरूको अत्यधिक सहभागिता र आध्यात्मिक वातावरण सघन बन्दै गएपछि महायज्ञको अवधि थप गरिएको हो।
शुक्रबारको दिन महायज्ञमा सन्त, महन्त, जनप्रतिनिधि र सरकारी कर्मचारीको बाक्लो उपस्थिति रहने आयोजकले जनाएका छन्। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार विभिन्न पालिका तथा जिल्ला बाट धार्मिक अगुवा, सरकारी अधिकारी, समाजसेवी र भक्तजनहरूको सहभागिता सुनिश्चित भएको छ।
कोटिहोममा चर्चित आध्यात्मिक वक्ता जगदीश शर्मा, सरु माता (सरिता पुन मगर), भारतका आलोकजी महाराजको टोली, अमेरिका निवासी श्री सत्यदेव महाराज, भागवत वाचिका अनुराधा पाण्डे, अछाम वैद्यनाथधामका गुरुकुल प्रमुख देवराज उपाध्याय गुरुदेव लगायतको आगमन भइसकेको छ।
त्यस्तै, कथा व्यास समाज नेपालका उपाध्यक्ष बालकृष्ण अर्याल, पण्डित भुवन घिमिरे, सुधा अच्युत प्रिया लगायतका धर्मगुरुहरूले पनि कथा वाचन तथा प्रवचन गरिरहेका छन्।
धार्मिक क्षेत्रका साथै सामाजिक अगुवा, अधिवक्ता स्वागत नेपाल, विश्वकर्मा समाजका केन्द्रिय अध्यक्ष गणेश बरायली लगायत विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहनेछ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल सहित उच्च अधिकारीहरूको टोली समेत दर्शनार्थ आउने कार्यक्रम रहेको छ।
यसैबीच, महायज्ञ स्थलका लागि विभिन्न भक्तजन तथा संघ–संस्थाबाट जग्गा दान हुँदै गएको संयोजक ढकालले जानकारी दिए। हाल सम्म अन्नपूर्ण गाउँपालिका बाट १५ रोपनी जग्गा प्राप्त भइसकेको छ। स्याङ्जाबाट शेर जंग अधिकारीले समेत भूमि दान गर्ने तयारी गरेका छन्।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मूर्ति महाराजले कोटिहोमको अवधि जेठ ३१ गते सम्म लम्ब्याउने घोषणा गरेका हुन्। त्यस अनुसार राधिका दासी (भागवत मञ्जरी) द्वारा जारी कथा वाचन पनि अब जेठ ३१ गते सम्म चल्ने छ।
महायज्ञ पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीय जग्गामा सञ्चालन भइरहेको छ। विशेष आकर्षणका रूपमा आगामी शनिबार २१ करोड दीप प्रज्वलन गरिने तयारी रहेको आयोजकले जनाएका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्