१८ असार ,सिरहा। मधेश प्रदेश सभा सदस्य ललिता दास माथि सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास भएको छ। सांसद दासले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै घटना गएराति करिब १२:३० बजेतिर घटेको उल्लेख गरेकी छन्।
उनका अनुसार, जनकपुर बाट लहान स्थित आफ्नै घर फर्कने क्रममा एनएमबी बैंकको गल्लिमा दुई युवकले उनलाई पछ्याउँदै लुटपाट र आक्रमण गर्न खोजेका थिए। तर, उनी समयमै भागेर घर पुग्न सफल भएकी थिइन्। परिवारले ढोका खोल्दा मात्रै उनी सुरक्षित भएर घर भित्र पस्न सकिन्।
सांसद दासले आफ्नै घर प्रहरी चौकी नजिकै रहे पनि आफू असुरक्षित महसुस गर्नुपरेको भन्दै गम्भीर प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, “आखिर के हुँदैछ हाम्रो देशमा? किन यति भय र त्रास फैलिएको छ?”

उनले दलित समुदाय माथि भइरहेको आक्रमण र हत्याको शृंखलालाई पनि जोड दिँदै केही महिना अघि आफ्नै घरअगाडि एक व्यक्ति माथि छुरा प्रहार भएको घटनालाई स्मरण गरेकी छन्।
सांसद दासले घटनापछि डिएसपी लाई जानकारी गराउँदा समेत गम्भीरतापूर्वक नलिएको आरोप पनि लगाएकी छन्। सुरक्षा निकायको यस्तो लापरवाही प्रति उनले गहिरो असन्तोष व्यक्त गरेकी छन्।
आफ्नो प्रतिकृया दिनुहोस्