१७ साउन,काठमाडौं । माइतीघर मण्डलामा शुक्रबार देखि आमरण अनसनमा बसेकी बिनु यादवले सरकारले ल्याउन खोजिरहेको बहुविवाह सम्बन्धी कानून पारित भए आफूलाई मृत अवस्थामा मात्र त्यहाँ बाट उठाउन सकिने चेतावनी दिएकी छिन्।
यादवले महिलालाई मानसिक पीडा दिने र हिंसा बढाउने खालको कानून स्वीकार्य नभएको भन्दै भनिन्, “यदि यो कानून पास भयो भने यहाँबाट मेरो लास उठ्छ। जबसम्म यो खारेज हुँदैन, म उठ्दिन।”
उनले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न सरकारलाई सुझाव दिँदै, बहुविवाहलाई कानुनी मान्यता दिन खोज्नु ठूलो अपराध निम्त्याउने कदम भएको बताइन्। “यो मेरो मात्र लडाइँ होइन, सबै महिलाका लागि हो। सबैले यसको विरोध गर्नुपर्छ,” यादवले भनिन्।
यादवका अनुसार, प्रस्तावित कानून लागू भए हिंसासँगै आत्महत्याका घटनाहरू बढ्ने जोखिम छ। उनले कानून मन्त्रालयका सचिवलाई लक्षित गर्दै भनिन्, “यदि यस्तो कानून तपाईंको परिवार र छोरीमा लागू गर्न सक्नुहुन्छ भने मात्र पारित गर्नु होस्। जनतालाई प्रयोगशाला बनाउन पाइँदैन।”
मन्त्रालयले तयार पारेको मस्यौदामा विवाहित पुरुषले अर्की महिला सँग सम्बन्धबाट बच्चा जन्माए वा गर्भ रह्यो भने त्यस सम्बन्धलाई दोस्रो विवाहको रूपमा कानुनी मान्यता दिने गरी मुलुकी संहिताको धारा १७५ संशोधन गर्ने प्रस्ताव गरिएको छ।
यादवले यसलाई महिलामाथि थप अन्याय र बहुविवाहलाई प्रोत्साहन दिने कदम भन्दै विरोध जारी राखेकी छन्। आफू परिवार र श्रीमानबाट पीडित भएको भन्दै उनले अन्य महिलाहरूलाई पनि आवाज उठाउन आह्वान गरेकी छन्।




















आफ्नो प्रतिकृया दिनुहोस्