काठमाडौं । सरकारले नेपालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू तत्काल बन्द गर्ने निर्णय गरेको छ।
बिहीबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल आज देखि नै निस्क्रिय पार्ने निर्णय गरेको हो। बैठकमा मन्त्रालयका अधिकारीहरू तथा नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
नेपाल सरकारले यसअघि सामाजिक सञ्जाललाई सूचीकरण गर्न सात दिनको समयसीमा दिएको थियो, जुन गएराति सकिएको हो। तर, तोकिएको म्यादभित्र सूचीकृत नभएकाले सरकारले यस्तो कदम चालेको हो।
सञ्चारमन्त्री गुरुङका अनुसार सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय कार्यान्वयन गर्न मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो। अदालतले अपहेलना मुद्दा (मुद्दा नं २०८० सिइएफ ००१२) मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाललाई अनिवार्य रूपमा सूचीकरण गर्ने आदेश दिएको थियो।
मन्त्री गुरुङले भने, “सूचीकृत नभएका सञ्जाललाई अस्थायी रूपमा मात्र बन्द गरिएको हो। सूचीकृत भए लगत्तै पुन: सञ्चालनमा आउन सक्नेछन्। सरकारको उद्देश्य सामाजिक सञ्जाललाई सदैव बन्द गर्ने होइन, तर नेपालका कानुन, नीति र संविधानअनुसार जिम्मेवार रूपमा सञ्चालन गर्न बाध्य बनाउने हो।”
उनका अनुसार मन्त्रालयले पटक–पटक जानकारी दिँदा पनि प्लेटफर्महरूले कुनै चासो देखाएनन्। महिनौं सम्म वार्ता र कूटनीतिक माध्यमबाट पनि समाधान खोजिएको तर सफल नभएकाले सरकारले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा रहेका छन्।
ठाकुरले थपे, “नेपालमा करिब २५ वटा सामाजिक सञ्जाल सक्रिय छन्। तर, कति बन्द हुने भन्ने यकिन छैन। सूचीकरण नगरे हजारौँ प्लेटफर्म बन्द हुन सक्ने सम्भावना छ।”



















आफ्नो प्रतिकृया दिनुहोस्