२३ भदौ,काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर), व्हाट्सएप सहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि आज राजधानी काठमाडौं आक्रोशको केन्द्र बन्यो। विशेष गरी युवा पुस्ता, जसलाई “Gen Z” भनिन्छ, सडकमा उत्रिए र ठूलो संख्यामा विरोध प्रदर्शन गरे।

आज बिहानै देखि हजारौं युवा विद्यार्थी र कार्यकर्ताहरू काठमाडौंको विभिन्न क्षेत्रबाट जुलुस सहित सिंहदरबार र संसद भवन तर्फ अघि बढ्दै उनीहरूले “प्रतिबन्ध फिर्ता गर”, “स्वतन्त्रता सुनिश्चित गर” भन्ने नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए ।केहि बेरमा प्रदर्शन बढ्दै गए पछि कतिपय ठाउँमा ढुंगा प्रहार, सरकारी सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीहरूले टियर ग्यास, वाटर क्यानन र रबर गोली प्रयोग गरे। तर स्थिति नियन्त्रण हुन नसक्दा अन्तत: लाइभ गोली समेत चलाइएको पुष्टि भएको छ।यस क्रममा राजधानी सहित देशका विभिन्न सहरमा भएको झडपमा कम्तीमा १९ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि भएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ।

स्थिति चर्किए पछि सरकारले आज अपराह्न देखि नै काठमाडौं उपत्यकामा अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ।त्यसै बीच गृह मन्त्रालयमाथि बढ्दो दबाबका कारण गृहमन्त्री रमेश लेखकले तत्कालै राजीनामा दिएका छन्। सरकारले राजधानीमा सेना परिचालन गर्ने तयारी समेत गरेको बताइएको छ।

आन्दोलनकारी युवाहरूले यो आन्दोलन केवल सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध मात्र नभई भ्रष्टाचार, बेरोजगारी, शिक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भएको बताएका छन्।एक प्रदर्शनकारीले भने, “हामीलाई आफ्नो आवाज उठाउने ठाउँ बन्द गरियो। यो हाम्रो भविष्य र स्वतन्त्रताको आन्दोलन हो।”

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालको स्थितिलाई प्रमुख समाचारका रूपमा प्रसारण गरेका छन्।मानवअधिकार संगठनहरूले सामाजिक सञ्जाल बन्दलाई “लोकतन्त्र र स्वतन्त्रतामाथि ठूलो आक्रमण” भन्दै आलोचना गरेका छन्। छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन, संवाद मार्फत समाधान खोज्न आग्रह गरेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्