काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई नेपाल सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि गर्ने र असोज १ गते शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार, शोक दिवसका दिन राष्ट्रिय झण्डा आधा झुण्ड्याइने छ। उनले भने, “जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय भएको छ। साथै, असोज १ गते शोक दिवस मनाउन सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ।”

मृतकका परिवारलाई राहतस्वरूप प्रतिव्यक्ति १५ लाख रुपैयाँ प्रदान गरिने भएको छ। जस अन्तर्गत १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्चका लागि उपलब्ध गराइनेछ।त्यसैगरी, आन्दोलनका घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ स्थापना गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्