काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकार जनताको गुणस्तरीय जीवनस्तर र सरकारका कार्य प्रणालीमा पारदर्शिता सहितको राष्ट्रिय एजेण्डा कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएकी छन् ।
शुक्रबार संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले कानूनी समानता, सुशासन, भ्रष्टाचारको अन्त्य र दिगो विकासजस्ता विषय सबै पुस्ताको साझा अपेक्षा भएको भन्दै यिनै एजेण्डालाई आत्मसाथ गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “सूचना प्रविधिको विकाससँगै नागरिकमैत्री शासन प्रणालीको आवश्यकता अझै तीव्र भएको छ । युवा पुस्ताले उठाएका रोजगारीका अवसर, गुणस्तरीय जीवनस्तर, पारदर्शी शासन, कानूनी समानता, सुशासन र विकासका प्रश्न आज सबैको साझा राष्ट्रिय एजेण्डा बनेका छन् । यी सबैलाई आत्मसात् गर्दै सरकार जनअपेक्षा अनुसार काम गर्नेछ ।”
प्रधानमन्त्री कार्कीले आफू कुनै पदको लोभ वा शासकीय आकांक्षाका कारण प्रधानमन्त्री नभएको स्पष्ट पार्दै भनिन्, “देश संकटमा परेको अवस्थामा युवा पुस्ताको अनुरोध अनुसार संक्रमण व्यवस्थापनका लागि मैले यो जिम्मेवारी लिएको हुँ । संविधानले तोके अनुसार आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित म प्रधानमन्त्री भएकी हुँ ।”

उनले नागरिकका आवश्यकता र आकांक्षा समय सँगै बदलिने भएकाले राज्य त्यस अनुसार क्रियाशील भई सुधारको बाटोमा अघि बढ्नु पर्नेमा जोड दिइन् । साथै उनले संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष न्यायपालिका, कानूनी शासन र सुशासनलाई मजबुत बनाउन नसक्दा अहिलेको अवस्था उत्पन्न भएको उल्लेख गर्दै, जनताको भावना संविधानका अक्ष रभन्दा बढि बहुआयामिक हुने टिप्पणी गरिन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्