जनकपुरधाम । आश्विन शुक्ल नवमीका दिन आज देशभरका दशैँघर र पूजा कोठामा नौ दुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ । नवरात्रको अन्तिम दिन यस देवीको आराधना गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ ।
सिद्धिदात्री देवीलाई मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने शक्तिरूपा मानिन्छ । यिनै कारणले उहाँलाई ‘सिद्धिदात्री’ भनिएको हो भने, सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरू समेत द्वारा सेवित भएकाले ‘सिद्धिदायिनी’ नामले पनि चिनिन्छ । नवदुर्गा मध्ये अन्तिम अर्थात् नवौँ स्वरूप भएकी सिद्धिदात्रीको आराधनाले मनोकामना पूरा हुने र समस्त कष्टबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
धार्मिक ग्रन्थ अनुसार, देवी दुर्गाका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको उल्लेख विभिन्न पुराणमा पाइन्छ । यी नौ नामको स्मरणले मात्र पनि जीवनका कठिनाइ, रोग, शोक र संकटबाट छुटकारा पाउने विश्वास गरिएको छ ।
जनकपुरधाम स्थित देवी मन्दिरहरूमा आज बिहानै देखि भक्तजनहरूको भीड लागेको छ । सिद्धिदात्रीको पूजा–आराधनासँगै प्रसाद चढाउने तथा भजन कीर्तन गर्ने धार्मिक गतिविधि भइरहेका छन् । महिलाहरू रातो वस्त्रमा सिँगारी देवीको दर्शन गर्न पुगेका छन् भने पुरुषहरू व्रत बसेर उपवास गरी पूजा अर्चना गरिरहेका छन् ।
यसैबीच, काठमाडौं, भक्तपुर, ललितपुर सहित देशका प्रमुख देवी मन्दिरहरूमा समेत आज विशेष पूजापाठ, दुर्गा स्तोत्रपाठ र वैदिक विधि अनुसार नवमी पूजा सम्पन्न भइरहेको छ । भक्तजनहरूले दशैँको नवौं दिनलाई पूर्ण श्रद्धा, भक्ति र आध्यात्मिक साधनाको चरम रूपका रूपमा लिएको देखिन्छ ।
धार्मिक विद्वान्हरूका अनुसार, नवरात्रको नवमी पूजा सम्पन्न भए पछि भोलि दशमीका दिन देवी विजया दशमी मनाइने र मान्यता अनुसार दशैँको औपचारिक समापन हुने परम्परा छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्