१५ पुष,जनकपुरधाम । मिथिलाको राजनीतिमा ‘महेन्द्र नारायण निधि’ को विरासत लाई भजाउँदै आएका नेता विमलेन्द्र निधिलाई यसपटक आफ्नै पुराना सहयात्रीहरू लाई “लालटिन” बालेर खोज्नु पर्ने अवस्था सिर्जना हुने देखिएको छ । गत चुनावमा आफैँ ‘समानुपातिक’ को चोरबाटो बाट संसद छिरेका निधिले यस पालि “भान्जी निनु कर्ण” लाई मधेसी महिलाको १ नम्बर सूचीमा सुटुक्क भित्र्याए पछि धनुषा कांग्रेसको भुइँतहमा ज्वालामुखी विष्फोट भएको छ।
यस ‘पारिवारिक प्रहसन’ का विरुद्ध खरो उत्रिएका छन्,, निधिकै पुराना मित्र र कांग्रेसका निडर नेता जीवनाथ चौधरी। चौधरीको टिप्पणी केवल असन्तुष्टि मात्र होइन, यो निधिको “पारिवारिक सिन्डिकेट” विरुद्धको एउटा कडा राजनीतिक विद्रोह हो।
“भान्जीलाई बधाई,”
चौधरीले सामाजिक सञ्जाल मार्फत व्यङ्ग्यको बाण प्रहार गर्दै लेखेका छन्,, “बिमल दाई आफैँ त सांसद हुनु हुन्थ्यो नै, अब भान्जीलाई पनि निश्चित सिट दिलाइ दिनु भयो, मामा-भान्जी दुवैलाई अग्रिम बधाई!” तर यो बधाई भित्र लुकेको पीडा भने ती कार्यकर्ताको हो, जसले निधि सँगै प्रजातन्त्रका लागि जेलमा चिसो भुइँमा रात बिताएका थिए।
चौधरीले प्रश्न गरेका छन्,, के नेपालको संविधानले “आफ्नै श्रीमती, छोराछोरी र भान्जा-भान्जी भर्ती केन्द्र” बनाउन समानुपातिक प्रणाली ल्याएको हो?
जीवनाथले ललन चौधरी, प्रफुल्ल राज घिमिरे,धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देखि स्वर्गीय बलभद्र लाल कर्ण सम्मका दर्जनौँ त्यागी नेताहरूको नाम लिँदै सोधेका छन्,, “यी पुराना योद्धाहरूले के पाए? कि यिनका सन्तानहरू निधिको भान्जी जति ‘योग्य’ हुन सकेनन्?” जुन नेताहरूले गरिबीमै मृत्युवरण गरे, तिनका परिवार आज ‘गाँस, बास र कपास’ का लागि संघर्ष गरिरहँदा नेताजी भने आफ्नै भान्जीको उज्ज्वल भविष्य कोर्न व्यस्त हुनु हुन्छ। यसले बिपी कोइरालाको ‘समाजवाद’ लाई त गिज्याएकै छ, साथै ‘नातावाद’ को नयाँ भाष्य पनि कोरेको छ।
कार्यकर्ता कि दास?
चौधरीले बिपी कोइरालाको प्रसिद्ध भनाइ उद्धृत गर्दै वर्तमान कांग्रेसीहरूको ऐना देखाइदिएका छन्— “नेतृत्वले गलत गर्दा टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास।” यो टिप्पणी पछि सामाजिक सञ्जालमा समर्थकहरूको बाढी नै आएको छ।
नीरज चौधरीले त सिधै भनिदिए— “आफ्नो परिवारका लागि मात्र काम गर्नेको साथ लाग्नु बेकार छ।”यस्तै चन्द्र यदुवंसी,जानकी रमण शास्त्री र नितिश राज शाहले पनि कर्मठ कार्यकर्तालाई लत्याएर ‘नाता’ लाई प्राथमिकता दिने पार्टीले दीर्घकालीन सफलता नपाउने चेतावनी दिएका छन्।
जनकपुरका चिया पसलदेखि पिराडी चोक सम्म अहिले एउटै चर्चा छ,, “विमल दाईले आफ्नै गोडामा बञ्चरो हाने।” चुनावको संघारमा आफ्नै पुराना साथीहरूलाई शत्रु बनाउनु र नातावादमा लिप्त हुनुले निधिजीको आगामी यात्रा कठिन हुने निश्चित छ।
अन्तत:, जीवनाथ चौधरीले एउटा यस्तो प्रश्न छोडेका छन् जसको जवाफ विमलेन्द्र निधि सँग सायदै होला— “इतिहास बनाउने कि इतिहासमा प्रयोग भएर हराउने?” यदि धनुषाका कार्यकर्ता अझै पनि मौन बसे भने, भोलि निधिका अन्य नातागोताको सूची अझै लामो हुनेछ, र आम कार्यकर्ताको हैसियत मात्र ‘झण्डा बोक्ने र जिन्दाबाद भन्ने’ मा सिमित हुनेछ।




















आफ्नो प्रतिकृया दिनुहोस्