काठमाडौं : भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उप-प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।३० करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मोक्तान, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समितिका तत्कालिन प्रमुख मेथुर चौधरी विरुद्ध आरोपपत्र दायर गरेको हो ।
विशेष अदालत काठमाडौंमा मंगलबार दायर आरोपपत्रमा आयोगले बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको उल्लेख गरिएको छ ।

सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा परियोजना र संघीय सरकारको स्वीकृत विना अनधिकृत रुपमा माछा पोखरी निर्माणका लागि भनी ढुङ्गा गिट्टी बालुवा (वन पैदावार) उत्खनन् गर्नको लागि प्रारम्भिक परीक्षण प्रतिवेदन (IEE) स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेर अनधिकृत काम गरेको आरोपपत्रमा छ ।
आयोगका अनुसार बागमती नगरपालिका बाट उक्त माछा पोखरीको डीपीआर तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृत समेत नगराई, बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई, माछापोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना नेपाल सरकारको स्वीकृत विना ३९ लाख ७३ हजार १ सय ९१ घनमिटर उत्खनन गरेको पाइएको छ ।
उत्खखनबाट निस्किएको नदी जन्य पदार्थको हिसाबमा अनियमिता गरेको पाइएको पनि आयोगले जनाएको छ ।नेपाल सरकार, प्रदेश, स्थानीय तह/सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरेको भन्दै आरोपित विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजायको माग दाबी आयोगले गरेको छ ।
आयोगले यस अघि स्रोत नखुलेको सम्पत्ति पाइएको भन्दै गत चैत अन्तिम साता मुद्दा दायर गरे पछि नगरप्रमुख थापा पदबाट निलम्बित छन् । उनी विरुद्ध मंगलबार दायर भएको यो दोस्रो मुद्दा हो । अघिल्लो मुद्दामा ५ करोड ३३ लाख रुपैयाँ बिगो माग दाबी गर्दै आयोग द्वारा आरोप-पत्र दायर गरिएको थियो ।



















आफ्नो प्रतिकृया दिनुहोस्