१६ भाद्र,सिरहा: जिल्लाको मध्यभागमा पर्ने गोलबजार यति बेला लागू औषधको हबका रुपमा रुपान्तरित हुँदै गएको छ । एक अध्ययन अनुसार गोल बजारमा ब्राउन सुगरको होलसेल पसल नै चार वटा र खुद्रा पसल दर्जनौ रहेको पाइएको छ ।
संचारकर्मीहरु को एक टोलीले ५० जना दुर्व्यसनी हरु लाई भेटेर गरेको अन्तरक्रियात्मक अध्ययनले गोल बजार क्षेत्र लागु औषधको हब बनेको हो ।गोलबजारमा रहेको तीन वटा सुधार केन्द्र (पुनर्स्थापना केन्द्र) मा रहेका ५० जना दुर्व्यसनीहरु सँग गरिएको वार्तालाप बाट आएको तथ्य अनुसार गाँजा, ट्यावलेट, सुई र करेक्स त लगभग खुला रुप मै बिक्री हुन्छ ।

प्रयोगकर्ता हरु सीमा पारी भारतीय बजार पुगेर लागू औषध प्रयोग गरेर आउँछन् । फर्किदा बोकेर ल्याउँछन् । मोटरसाइकलमा घुमेर बिक्री गर्छन् ।प्रयोगकर्ता हरु जहाँ छन् त्यहीँ पुर्याउँछन् । प्रयोगकर्ता हरु सामुदायिक वन, खोल्सा,खोल्सी , खाली घर , खोला,नाला र बगैंचाहरु मा बसेर लागू औषध बिक्रेता लाई फोन गर्छन् । बिक्रेता ले मोटरसाइकलमा त्यहीँ पुर्याइ दिन्छन् ।
मकवानपुर रिकभरिङ्ग समूह (पुनर्स्थापना केन्द्र)मा आफू लाई सुधार्ने कोशिसमा रहेका दुर्व्यसनी राम गोपाल दास (नाम परिवर्तन) भन्छन्,‘गोलबजारमा ब्राउन सुगरको होल सेल पसल छ । यहाँ बाट सिरहा, धनुषा, कटारी, ओखलढुंगा, सोलु, सिन्धुली, गाइघाट र काठमाडौं सम्म ब्राउन सुगर निर्यात हुन्छ ।’
काँकडभिट्टा र वीरगंज नाकाबाट ‘माल’ आउँछ । भारतीय बजार जयनगर, लदनीयाँ र लौकहा नाका बाट पनि यदा कदा भित्रिने उनको भनाइ छ ।गोल बजारका युवा तथा समाज सेवी सुरेश साह भन्छन्,‘दैनिक उपभोग्य वस्तु र अन्य सामान भन्सार चोरी पैठारी गर्ने तस्कर (स्थानीय भाषामा ‘ब्लेकिया’) हरु र प्रहरी बीच साँठगाँठ छ ।’
महिनावारी रकम बुझाएर ‘ब्लेकिया’ हरुले माल सामान पैठारी गर्छन् । उनीहरु लाई प्रहरीले समात्दैनन् ।उनीहरुले अतिरिक्त मुनाफाका लागि अन्य सामानहरु सँग लागू औषध पनि भित्र्याउँ छन् । गोल बजारमा ब्लेकियाहरु धेरै छन् । भन्सार छलेर लत्ता कपडा ,चिनी, तेल र मोटर पार्टस धेरै ल्याइन्छ । त्यही सामानमा मिसाएर लागू औषध पनि आउँछ । त्यस कारण गोलबजार लागू औषधको हब बनेको छ ।
गोलबजारका संस्थागत विद्यालय संचालक तथा प्रतिष्ठित व्यक्तित्व मनोज कुमार यादव भन्छन्,‘विद्यालय वरिपरी हामीले निगरानी बढाएका छौं । टिफिनको समयमा ब्राउन सुगर लगायत अन्य लागू औषध बोकेर एजेन्टहरु विद्यालय छेउ छाउ चक्कर लगाउँछन् । एजेन्टहरु लाई कति पटक चेतावनी दिएर लखेटेका छौं । बालबालिका लाई कुलत बाट जोगाउन कठिन भएको छ ।’
गोलबजार मा संचालित तीन वटा पुनर्स्थापना केन्द्रका दुर्व्यसनीहरु ले बताए अनुसार ट्यावलेट, सुई, करेक्सका दुर्व्यसनी को संख्या एक हजार भन्दा बढी छ । ब्राउन सुगर अलि मंहगो छ त्यस कारण प्रयोगकर्ता अलि कम छन्। ब्राउन सुगर दुर्व्यसनी पनि तीन सय भन्दा बढी छन् ।
उनले एक ग्राम ब्राउन सुगर एक डोज हुन्छ र त्यसको चार हजार मूल्य पर्छ । उनीहरु भन्छन्,‘गोलबजार मा लागूऔषध खरिद गर्न चुरोट सुपारी किने जस्तै सजिलो छ । दर्जनौ स्थानमा सहज रुपमा उपलब्ध छ ।’
गोलबजारमा कसरी ह्वात्तै दुव्यर्सनी बढे भन्ने हाम्रो प्रश्नमा इलाका प्रहरी कार्यालय गोलबजार वरिपरी नै घर भएका र सिरहा पुनर्स्थापना केन्द्रमा स्वास्थ्य लाभ लिइरहेका ३४ वर्षीय दुर्व्यसनी मुकेश दर्लामी(नाम थर परिवर्तन ) भन्छन्,‘जस्तो कि म ब्राउन सुगरमा पल्किएँ । अब मलाई नभइ हुँदैन । तर मसँग पैसा छैन भने विक्रेताले भन्छन् दुई तीनजना नयाँ साथी लाई ग्राहक बनाउ । प्रयोग गर्न सिकाउ अनि तिमीलाई चार डोज फ्रि दिन्छु,’ उनले अगाडि भने,‘मैंले चार डोज फ्रि पाउनका लागि अन्य चार जना लाई फकाएर दुर्व्यसनी बनाए । यसरी दुर्व्यसनी हरुको संख्या बढ्छ । बिक्रेताले दर्जनौ पुराना दुर्व्यसनीहरु लाई नयाँ केटाहरु लाई कुलतमा फसाउन खटाउँछन् ।’
मकवानपुर पुनर्स्थापना समूहमा लागू औषध मोचनका लागि बसेका महोत्तरीका १९ वर्षिय रविन्द्र साह (नाम परिवर्तन) भन्छन्,‘एक दुई वर्ष घरको सारा सम्पत्ति बेचेर ब्राउन सुगर खाइयो । तर पैसा सकिए पछि के गर्ने ? मनले मान्दैन, शरीरले माग्छ । त्यसपछि ब्राउन सुगर बोक्ने भरिया बनियो । भरिया बने वापत दुई चार हप्ता सित्तैमा पाइयो । पुँजी हुनेले घरमै बसी–बसी पैसा कमाउँछन् ।’
‘प्रहरीले दुर्व्यसनीहरु लाई मात्र समात्छ । तर मूल होलसेल र रिटेलर बिक्रेताहरु लाई समात्न सक्दैन,’उनले भने,‘गोलबजार मै रहेको तीन वटा पुनर्स्थापना केन्द्रमा प्रहरी आएर दुर्व्यसनी हरु सँग अन्तरक्रिया गर्ने र सूचना संकलन गर्ने हो भने लागू औषधका ठूला सौदागर हरु सजिलै पक्रन सकिन्छ । तर प्रहरीले लागू औषधका ठूला व्यापारी विरलै समात्छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरुमा ९९ प्रतिशत दुर्व्यसनीहरु छन् ।’
आफू दुर्व्यसन बाट बर्बाद भएर पुनर्स्थापना केन्द्रबाट पुर्नजीवन पाएका र हाल पुनर्स्थापना केन्द्र संचालन गरेर बसेका शशी बाबु यादव भन्छन्,‘प्रहरीले सूचना पाइहाल्यो र भेटि हाल्यो भने समात्छ । तर पत्ता लगाएर खोजेर समात्दैन् । सुध्रिएर नयाँ जीवन जिउन खोज्दा पनि हामी समाजमा अपहेलित हुन्छौ । त्यस कारण हामीले आफैं आफू जस्ता लाई सुधार्ने कोशिसमा लागेका छौं ।’
‘६० हजार जनसंख्या भएको नगरपालिकामा तीनवटा पुनर्स्थापना केन्द्रमा भरि भराउ दुर्व्यसनीहरु हुनु सामान्य कुरा होइन । दुई वर्ष अघि सम्म फाट्टफुट्ट मात्र दुर्व्यसनी भेटिन्थे । अहिले तीन वटा पुनर्स्थापना केन्द्रमा लगभग एक सय जना दुर्व्यसनी छन् । यहाँ ठाउँ नपुगेर वर्दिवास, सर्लाही र धनुषामा समेत दुव्र्यसनी पुर्याइएको छ,’ पुनर्स्थापना केन्द्रका अर्का मुख्य संचालक तथा पूर्व-दुर्व्यसनी प्रवीण गौतमले भने ।
गोलबजारमा संचालित तीन वटा पुनर्स्थापना केन्द्रका अधिकांश दुर्व्यसनी हरु भन्छन्,‘पहिलो चरणमा चुरोट, त्यस पछि गाँजा क्रमश रक्सी पिउँदै ट्यावलेट प्रयोगमा पुगिन्छ । रक्सी पसलहरु मा ट्यावलेट बेच्नेहरु पुग्छन् । यो चक्की खाउ, मजा आउँछ भनेर उक्साउँछन् । क्रमश: करेक्स र सुई लगाउनेमा पुगिन्छ । त्यस पछि ब्राउन सुगरमा फसिन्छ । एक दिन मात्र प्रयोग गरे पछि नभइ हुँदैन ।’
इलाका प्रहरी गोलबजार कै अपराध चार्ट हेर्दा गोलबजार लागू औषधको हव भएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०८०।०८१ मा इलाका प्रहरी कार्यालय गोलबजारले १२ जना लागू औषध दुर्व्यसनी र ओसार पोसारमा संलग्नहरु लाई पक्राउ गरी मुद्दा चलाएको छ । जस मध्ये पाँच जना ब्राउन सुगर सहित पक्राउ परेका थिए ।
त्यसै गरी जिल्ला भरका अन्य प्रहरी कार्यालयहरु ले पक्राउ गरेका व्यक्तिहरु पनि गोलबजारका बासिन्दा अधिक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले गत साउन १२ गते १०५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेका व्यक्ति विनय कुमर साह पनि गोलबजार कै हुन् । प्रहरीकै तथ्यांकहरुले पनि गोलबजार लागू औषधको ‘स्वर्ग’ बनेको देखिन्छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्,‘प्रहरीको एकल प्रयासले लागू औषध नियन्त्रण गर्न सकिदैन । यसमा स्थानीय सरकार, अभिभावक, शिक्षक वुद्धिजीवी सबैले सकृय भूमिका खेल्नु पर्छ ।’ खुला सीमानाका कारण पनि लागू औषधको कारोवार बढेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।
तर, स्थानीय समाजसेवी तथा नेकपा माओवादी का नेता तथा पूर्व-सांसद जगत यादव को बिचार फरक छ । उनी भन्छन्,‘लागू औषध नियन्त्रण गर्ने मूल भूमिका प्रहरी कै हो । किनकी यो संगीन अपराध हो र अपराध नियन्त्रण गर्नु प्रहरीको प्राथमिक कर्तव्य हो ।’
‘लागू औषध तस्करहरु शक्तिशाली छन् । उनीहरु लाई प्रहरीले मात्र नियन्त्रण गर्न सक्छ । सर्व-साधारण सँग हतियार छ र उनीहरु लाई तह लगाउनु ?’, उनले भने,‘गोलबजारमा दुर्व्यसनी हरुको संख्या हेर्दा समाजको एक पुस्ता नै बर्बाद भइरहेको देखिन्छ । गोलबजारमा सक्षम प्रहरी युनिट राखेर लागू औषध विरुद्ध विशेष अप्रेशन नै चलाउनु पर्छ ।’
जनताले प्रहरीलाई सूचना दिएर सहयोग गर्ने हो । गोलबजारमा लागू औषधका ठूला विक्रेता र प्रहरी बीच साँठगाँठ नहुने कुरै छैन । नत्र गोलबजारमा लागू औषधको पसल बग्रेल्ती हुने थिएन । होलसेलमा व्यापार चलि रहेको छ ।
गोलबजारका तीन वटा पुनर्स्थापना केन्द्रमा रहेका करिव सय जना दुर्व्यसनीहरु १६ वर्ष देखि ४२ वर्ष उमेर समूहका छन् । कक्षा ८ मा पढदै गर्दा कुलतमा फसेको बताउने २० वर्ष मुनिका करिव एक दर्जन दुर्व्यसनी भेटिए । दुर्व्यसनी मध्ये ७५ प्रतिशत ब्राउन सुगर सेवन सम्म पुगेका भेटिएका छन् ।
पत्रकार महासंघका उपाध्यक्ष पत्रकार गणेश साह भन्छन्,‘खर्च धान्न नसक्ने अभिभावकले आफ्ना दुव्र्यसनी सन्तानलाई पुनर्स्थापना केन्द्रमा नल्याएका हुन् । नत्र गोलबजारमा दर्जनौ पुनर्स्थापना केन्द्र खोल्नु पर्छ । स्थिति अत्यास लाग्दो छ ।’
(पत्रकार अर्जुन थपलिया , मुकेश यादव, र आशिष विश्वकर्माको अध्ययन अनुसार तयार पारिएको रिपोर्ट)



















आफ्नो प्रतिकृया दिनुहोस्