२१ कार्तिक,काठमाडौं: नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गते देखी २५ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा हुने अति रुद्र विश्व कल्याण विराट महा यज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल मै पहिलो पटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डित बाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ ।महायज्ञको औपचारिक उद्घाटन वैदिक गुरुहरु द्वारा कात्तिक २१ गते बुधबार बिहान साढे १० बजे शोभा यात्रा लगत्तै हुने छ ।
भद्रकाली मन्दिर बाट मौलिक नेपाली झाँकी तथा १ सय ८ शंखघण्ट सहित सुरु हुने शोभा यात्रा शहीदगेट, रत्न पार्क हुँदै भृकुटी मण्डपमा पुगेर उद्घाटन समारोहमा सरिक हुने छ ।महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समिक्षा बाँस्कोटाले नेपालीहरु आफैले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महा यज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रंगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महा सम्मेलन, भागवत कथा वाचन लगायतका कार्यक्रमहरु पनि आयोजना गरिने बताए ।
महा यज्ञलाई सफल बनाउन ७७ वटै जिल्ला बाट वैदिक गुरु तथा बटुकहरु काठमाडौं आइ पुगेको जानकारी समेत उनले दिए ।‘अतिरुद्र विश्व कल्याण विराट महा यज्ञको अन्तिम तयारी पूरा गरेका छौं । कात्तिक २१ गते देखि २५ गते सम्म सम्पूर्ण नेपालीहरु लाई भृकुटी मण्डपमा महायज्ञ, ध्यान शिविर, वैदिक महा सम्मेलन र भागवत सार वाचन लगायतका कार्यक्रममा सहभागि हुन आह्वान गर्दछौं’ ,बाँस्कोटाले भने ।
सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको विराट महा यज्ञमा ईच्छुक जोकोही सहभागि हुन सक्ने आयोजकले जनाएको छ ।
महा यज्ञका लागि भृकुटी मण्डप परिसरमा हवन स्थल, वाचन स्थल, योगा स्थल, सचिवालय, ५० वटा प्रांगारिक कृषि स्टल, सचिवालय, विश्राम स्थल, मिडिया सेण्टर, भोजन स्थल लगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्