२३ जेठ,काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार माथि गरेको दुव्र्यवहार प्रति अनलाइन टिभी पत्रकार संघले कडा आपत्ति जनाएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षा माथि गम्भीर प्रश्न उठाएको बताउँदै थापालाई तत्काल सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेको हो।
संघले विज्ञप्तिमा भनेको छ, “प्रेस स्वतन्त्रता र पत्रकारको भूमिका बारे पर्याप्त जानकारी भएका व्यक्तिबाटै सञ्चारकर्मी माथि यस्तो दुव्र्यवहार हुनु दुर्भाग्यपूर्ण र चिन्ताजनक छ। यसले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सुनिश्चितता माथि गम्भीर प्रश्न खडा गरेको छ।”
घटना बिहीबार नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा भएको हो। रिपोर्टिङका क्रममा नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा अधिवक्ता थापाले हात लगाएका थिए।
संघले सञ्चारकर्मीहरू नागरिकलाई सत्य सूचना दिन निरन्तर खटिएको उल्लेख गर्दै उनीहरूको कार्यमा कुनै किसिमको बाधा र अवरोध नगर्न सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्