७ भदौ,साउन शुक्ल एकादशी,जनकपुरधाम,(आशिष कुमार मण्डल) : जनकपुरधामका ऐतिहासिक पोखरी तथा गुठीको जग्गा अतिक्रमणमुक्त गराउने उद्देश्यले सुरु गरिएको अभियान यतिबेला तीव्र विवाद र विरोधाभासको घेरामा परेको छ। गुठी संस्थान जनकपुरधामले साउन १ गते जारी गरेको सूचना र भदौ ५ गतेको माइकिङलाई पछ्याउँदै शनिबार बिहानैदेखि गोरधोइ पोखरी क्षेत्रमा डोजर चलाएर बल प्रयोग गरी संरचना भत्काउन थालेको हो।
वि.सं. २०६२ मा भोजराज घिमिरे नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मानेर हालसम्म ६५ वटा कच्ची, आंशिक तथा पक्की घरटहरा भत्काइसकिएको संस्थानले जनाएको छ।तर, यो कारबाही निष्पक्ष हुन नसकेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। अतिक्रमण हटाउने क्रममा साना र गरिबका टहराहरू प्राथमिकताका साथ ध्वस्त पारिँदा विपन्न वर्ग बिचल्लीमा परेका छन् भने सोही क्षेत्रमा रहेका ठूला र पक्की महलहरूलाई विभिन्न बहानामा उन्मुक्ति दिइएको स्थानीयको गम्भीर आरोप छ।
कानुन सबैका लागि समान हुनुपर्नेमा पहुँचवालाको महल जोगाएर गरिबको ओत खोस्ने काम गरिएको भन्दै पीडितहरूले विरोध जनाएका छन्।यता, आधिकारिक समितिले भने सबै आरोपहरूको खण्डन गरेको छ। प्रतिवेदनले औँल्याएका मापदण्डविपरीतका सबै संरचनाहरूलाई बिनाकुनै विभेद चरणबद्ध रूपमा हटाउने नीति लिइएको र सोहीअनुसार प्रक्रिया जारी रहेको समितिको दाबी छ।
गुठी र पोखरी जस्ता ऐतिहासिक सम्पदाको संरक्षण गर्ने सरकारी कदम स्वागतयोग्य भए पनि, कार्यान्वयनमा देखिएको यो विभेदकारी शैलीले अभियानको निष्पक्षतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्