धनुषा : छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रुपमा चढाउने परम्परा छ ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनु भयो । उहाँका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । स्थानीयस्तरमा माग अनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो ।
“गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन् ।” जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उहाँले बताउनुभयो ।
“छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको माग अनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ”, उहाँले भन्नुभयो । समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ । प्रतिट्रक बराबर जनकपुर सम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उहाँले जानकारी दिनुभयो ।
बजारमा प्रत्येक केराको घरीलाई रू पाँच सयदेखि एक हजार सम्ममा बिक्री गरिन्छ । नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिड लगायत जातका केराखेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्