काठमाडौँ : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाह पूर्ण, अतिरञ्जित सहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचार संहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
मिडिया अन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहरा द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचार संहिताको व्यवस्था बमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्यु बसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । कुनै मिडिया सँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धता सहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।
काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्याउने, प्रायोजित एवं पक्षपोषण युक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।(रासस)





















आफ्नो प्रतिकृया दिनुहोस्