काठमाडौं : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज थप गरेको छ । योसँगै बुद्ध एयर सँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको जनाएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गते देखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । उनका अनुसार साउन देखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान थप गरिने भएको छ ।
बुद्ध एयर सँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो ।जोशीले सहज भाडादर कायम गरी उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरेका छन् ।
बुद्ध एयरले अहिले आन्तरिक तर्फ १ सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रिय तर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्