१० कार्तिक,काठमाडौं: ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दोस्रो दिन सम्म १६ हजार ७ सय जनाले अवलोकन गरेका छन् । दुई दिनमा ४० लाखको कारोबार भएको जनाइएको छ ।
फ्लोरि कल्चर एशोसिएसन नेपालको आयोजनामा विहीबार देखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गरेका थिए । पहिलो दिनमा १५ लाखको कारोबार भएको एसोसिएसनले जनाएको छ ।
दोस्रो दिन अर्थात आज ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनका संयोजक जेबी तामाङले जानकारी दिए ।चार दिन सम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण छ ।
पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।नजिकै आइ रहेको तिहार पर्व तथा छठ लाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।
विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा ९ मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ० मा प्रतिस्पर्धा गराइएको छ ।कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयोग गरिने फूल खेती पछिल्लो समय व्यवसायिक ढंगले फस्टाउँदै गएको छ। फूल खेती बाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइ रहेका छन् ।
व्यवसायिक फुल खेती तर्फको यो रुचि र लगानीले यस उद्योग लाई थप विस्तार गर्ने संकेत गरेको छ । नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरी करणको विकास तथा विस्तार सँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।
हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरि रहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्